छाङरु जोड्ने घोडेटो मुख्य मन्त्री भट्टलाई हस्तान्तरण

रिपोर्ट नेपाल | 2020 Oct 05 | 09:48 pm 2935

दार्चुला, असाेज १९ः नेपाली सेनाले दार्चुला सदरमुकाम खलंगालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँ सित जोड्ने घोडेटो बाटो हस्तान्तरण गरेको छ । सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई सोमबार उक्त बाटो हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनाले झण्डै चार महिनाको अबिरल प्रयासपछि व्यास गाउँपालिका–१ घाँटीबगर स्थित अत्यन्तै कडा र अप्ठेरो भिर फोरेर उक्त बाटो निर्माण गरेको हो । एक करोड आठ लाख खर्च गरेर महाकाली नदी किनारको उक्त क्षेत्रमा सेनाले चट्टानी भिर फोरेर दुई मिटर चौडाइ भएको ५५० मिटर लामो बाटो निर्माण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

No description available.

बाटो निर्माण गर्न चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिक रुपमा परिचालन गरिएको थियो। घाँटीबगर क्षेत्रमा बाटो निर्माण सम्पन्न भएपनि तम्बाकु भिरमा अझैपनि अप्ठ्यारो बाटो भएकोले सहज आवागमनका लागि तम्बाकु भिर फुटाएर बाटो निर्माण गरिदिन स्थानीयले सरकारलाई आग्रह गरेका छन् । घाँटीबगर ईलाकाको घोडेटो बाटोको स्थलगत निरीक्षण गर्दै सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारले थप बजेट विनियोजन नगरे प्रदेश सरकारबाट बजेट विनियोजन गरेर तम्बाकु भिरमा बाटो निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री भट्टले अत्यन्तै कठिन भिरमा सफलतापूर्वक बाटो निर्माण सम्पन्न गरेकोमा नेपाली सेनालाई धन्यबाद व्यक्त गरेका छन्। झण्डै ४० वर्षअघि सो क्षेत्रमा पहिलो पटक घोडेटो बाटो निर्माण गरिएको थियो । बर्सेनि हिमपातसँगै पहिरो खस्दा बाटो अवरुद्ध हुँदै आए को थियो । त्यसैमाथि महाकालीको बाढीले बाटोको निसानै मेटाइ दिँदा यहाँका बासिन्दा दुई दशकदेखि खलंगापारीको भारतीय क्षेत्र धारचुला हुँदै भारतकै बाटो प्रयोग गरी पैदल छाङरु र तिङ्कर आवतजावत गर्न बाध्य थिए ।

उक्त क्षेत्रमा पैदल बाटोसमेत नहुँदा खलंगा देखि झण्डै ७२ किलोमिटरको दूरीमा रहेको छाङरु गाउँका १२० परिवार तथा तिङ्कर गाउँमा बसोबास गर्ने करीब ७० परिवारलाई कुञ्चा (बसाई) सर्न समस्या हुँदै आएको थियो । दार्चुला सदरमुकाम खलंगाबाट ६० किलो मिटर उत्तरमा पर्ने घाँटीबगर क्षेत्रको बाटो निर्माणकै क्रममा नेपाली सेनाका एक जवानले वीरगति प्राप्त गरेका थिए ।

No description available.

नेपाली सेनाले पहरो फोडेर बाटो बनाएपछि अब त्यहाँका समुदायका साथै सुरक्षाकर्मी र कर्मचारीहरुलाई नेपाली भूमि भएर व्यास जान सहज भएको व्यासका स्थानीय एबं प्रदेश सभा सदस्य गेल्बुसिह बोहराले बताए। भारतीय सीमा नजिकको छाङरु गाउँ र चीनको तिब्बत सीमा नजिकको तिङ्कर गाउँमा बसोबास रहेका शौका समुदाय हिउँदमा कात्तिकदेखि चैतसम्म दार्चुला सदरमुकाम खलंगा बसाई सर्ने तथा हिउँ पग्लेपछि गर्मी यामको वैशाखदेखि कार्तिकसम्म व्यास क्षेत्र उक्लिदै आएका छन् ।

गाउँसम्म पुग्ने स्वदेशतर्फ बाटो नभएकै कारण व्यासबासीले बर्सेनि विभिन्न समस्या भोग्दै आएका थिए । चालु आर्थिक बर्षमा स्थानीय बासिन्दाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि दार्चुला सदरमुकामदेखि हेलिकोप्टरमा खाद्यान्न ढुवानी गर्नुपरेको थियो । शौका समुदायलाई गाउँ फर्किन कठिनाई भएपछि सरकारले उक्त क्षेत्रमा बाटो बनाउने जिम्मेवारी नेपाली सेनालाई दिइएकाे थियो ।

जेठ दोस्रो साता तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरिएको उक्त बाटो निर्माणको काम अप्ठ्यारो भूगोल र बर्षातका कारण केही समय प्रभावित भएको थियो । उक्त बाटो निर्माण सम्पन्न भएसंगै प्रदेश सरकारलाई हस्तान्तरण गरिएको नेपाली सेना दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति बिक्रमदेब थापाले जानकारी दिए ।

घोडेटो हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट, नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल, सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा, २५ नम्बर बाहिनि अड्डा कञ्चनपुरका बाहिनिपति कृष्ण जिसी, प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा, दार्चुला का प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल लगायतको सहभागिता रहेको थियो । बाटो हस्तान्तरण एबं उद्घाटन कार्यक्रम सम्पन्न भएपछि सोमबार दिउँसो नै मुख्यमन्त्री त्रिलोचन भट्ट सहित नेपाली सेनाको टोली धनगढी फर्किएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.