काठमाडाैं, माघ १६ः नेपाली सेना प्रकृति संरक्षणमा ४ दशकभन्दा लामो समयदेखि निरन्तर खटिरहेको छ । राष्ट्रिय सुरक्षाको धरोहर नेपाली सेनाले वातावरण सन्तुलनको आधार स्तम्भको रूपमा रहेको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
जैविक विविधता संरक्षणभित्र वन्यजन्तु संरक्षणको महत्वपूर्ण भूमिका हुन्छ । सेनाले मुलुकमा विद्यमान १२ राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, १ शिकार आरक्ष र ६ वटा संरक्षण क्षेत्रको सुरक्षाको जिम्मेवारी लिएको छ ।
मानिसको आधारभूत आवश्यकता पूर्तिका लागि सबै जीवजन्तुको अस्तित्व रक्षा गर्नु जैविक विविधताको संरक्षण पहिलो शर्त हो । बढ्दो शहरीकरण, गैरकानुनी शिकार, समय-समयमा हुने आगलागी, प्राकृतिक स्रोतको दोहन तथा वन्यजन्तु र
मानवबीचको द्वन्द्वले जैविक विविधताको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । नेपाली सेनाले राष्ट्रिय निकुञ्जहरूको सुरक्षा
जिम्मा लिएपछि वन्यजन्तु र मानवद्वन्द्वमा कमि आएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षार्थ खटिएको नेपाली सेनाले थालेको चोरीशिकारी तथा अवैध गतिविधि नियन्त्रणको उद्देश्यसहित सञ्चालित अपरेसन महाहन्ट प्रभावकारी बन्दै गएको छ । महाहन्टको सातौँ संस्करण
शुरु भएको पछिल्लो डेढ महिनामा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरूबाट पट्रोल, चेक प्वाइन्ट, स्वीपलगायत गरी कूल
३६ हजार २ सय ८७ सुरक्षात्मक कारबाही सञ्चालन गरिसकेको छ ।
यस अवधिमा गैंडा र बाघको चोरी शिकारी, व्यापार एवं अखेटोपहार ओसारपसारमा संलग्न रहेको आरोपमा ८ जना र काठ तस्करीमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि निकुञ्ज कार्यालयमा बुझाएको छ ।
निकुञ्ज र आरक्षभित्र अवैधरूपमा प्रवेश गरी माछा मार्ने, घास दाउरा, तथा बालुवालगायत खनिज पदार्थ संकलन कार्यमा संलग्न ९ सय ३९ जना व्यक्तिलाई नियन्त्रणमा लिई कारबाहीका लागि निकुञ्ज तथा आरक्ष कार्यालयमा बुझाइएको छ । यस अवधिमा चोरी शिकारीमा प्रयोग भएको ६ नाल भरुवा बन्दुक लगायतका सामग्री बरामद गरिएको छ भने शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट स्थानीय जनप्रतिनिधिको सहयोगमा २५ नाल भरुवा बन्दुक निकुञ्ज कार्यालयमा बुझाएको छ ।
वन्यजन्तु संरक्षण कार्यमा निरन्तर खटिरहेको नेपाली सेनालाई सबैको साथ र सहयोग आवश्यक छ । स्थानीय तहले
यसमा समन्वयकारी भूमिका निर्वाह गरेमा राम्रो प्रतिफल प्राप्त हुने तथ्यको पुष्टी शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती
क्षेत्रका स्थानीय जनप्रतिनिधिको सहयोगका कारण बरामद भएका हतियारहरुबाट मिलेको नेपाली सेनाले जनाएकाे छ ।