चोरीपैठारीको लत्ताकपडासहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

| 2021 Jul 27 | 06:36 pm 293

कैलाली, साउन १२ः जिल्लाको कैलारी गाउँपालिका २ बसौतीबाट मंगलबार सशस्त्र प्रहरीले करीव १ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कैलारी गाउँपालिका २ बस्ने ३६ वर्षीया मायालु चौधरी र सोही गाउँपालिका ३ बस्ने ३६ वर्षीय खुशिराम चौधरी रहेका छन् ।

भारतबाट अवैध रुपले दुई वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लत्ताकपडा तथा साईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलालीमा बुझाईएको छ ।

लागूऔषधसहित पक्राउ
झापा जिल्लाको भद्रपुर नगरपालिका २ देउनिया पुलबाट सशस्त्र प्रहरीले तीन बोतल स्कुफ सिरप र नौ वटा निट्राजेपाम ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको बिर्तामोड नगरपालिका ९ बस्ने ३२ वर्षीय ज्वाला थापा रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो ।

पक्राउ परेका थापालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ डोके बजारस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ४ लाख ४५ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सालको गोलिया काठ बरामद
महोत्तरी जिल्लाको गौशला नगरपालिका ११ स्थित लक्ष्मीनिया टोलबाट सशस्त्र प्रहरीले करीव १ लाख ६६ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।

सो ठाउँस्थित बगैचामा लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा पोष्ट लक्ष्मीनियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो  । बरामद काठ सागरनाथ वन परियोजनाको कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.