काठमाडौं, माघ ८ः राजधानीबाट मोटरसाईकल चोरी गर्ने गिरोहहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकल चोरीको घटना बढे सँगै ट्राफिक प्रहरीले पनि बिशेष अप्रेसन सञ्चालन गर्दै आईरहेको छ । सोही क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले चावहिलबाट चोरी भएको बजाजको २२० सिसिको पल्सर मोटरसाईकल सहित ३ जनालाई पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले बिहीबार काठमाडाैं तारकेश्वर नगरपालिका लोलाङस्थित सडकखण्डबाट बास्तविक नम्वर प्लेट परिवर्तन गरी बा ८७ प ८८३९ नम्वरको रातो कालो रङ्गको पल्सर मोटरसाईकल चलाइरहेको अवस्थामा मोटरसाईकल सहित ३ जनालाई पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए।
पक्राउ पर्नेमा नुवाकोट सुर्यगढी गाउँपालिका – १, भोर्ले घर भई हाल तारकेश्वर – ५ लोलाङ बस्ने ४१ वर्षीय जित बहादुर तामाङ्ग, रसुवा नौकुण्ड गाउँपालिका २ घर भई हाल गोकर्णेश्वर – २ नयाँपाटी बस्ने ४२ वर्षीय सोमान गंदान तामाङ्ग र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ घर भई हाल बौद्ध बस्ने २८ वर्षीय साङ्तेन तामाङ्ग लामा रहेको महाशाखाले जनाएको छ ।
मोरङ घर भएका पृथ्वीमान लिम्बुले बा ८९ प २२८५ नम्वरको २२० सी.सी. को कालो रंङ्गको पल्सर मोटरसाईकल चाबाहिल मैजुबहालबाट हराएको भनि यस महाशाखामा निवेदन दिएका थिए ।
हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरी हराएको मोटरसाईकल र चोरीमा संलग्न ३ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।