काठमाडौं, पुस २८ः महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मंगलबार विहान काठमाडाैं चन्द्रागिरी
नगरपालिका २ नागढुंगा स्थित सडक खण्डबाट धादिङ्ग गल्छी गाउँपालिका बस्ने २७ वर्षीय बिजय तामाङ्ग र १८ वर्षीय आईतराज तामाङ्गलाई प्रदेश ३-०२-०११प ७२४१ नम्वरको कालो रातो रंङ्गको १५० सी.सी.को पल्सर मोटरसाईकल सहित पक्राउ गरेको महाशाखाले जनाएको छ ।
उपत्यकाको विभिन्न स्थानबाट मोटरसाईकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिहरूलाई पक्राउ गरिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक
भट्टराईले बताए ।
किर्तिपुर नगरपालिका ७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाईकल काठमाडाैं चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामा हुलिया निवेदन दिएका थिए । महाशाखाले चोरी भएको उक्त मोटरसाईकलको नम्बर प्लेट परिबर्तन भएको अबस्थामा पक्राउ गरेको र वास्तविक नं. प्रदेश ३-०२,०१४ प ०३३९ रहेको बताएको छ ।
हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरी हराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, किर्तिपुर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए।