चोभार बन्दरगाह सञ्चालन तयारी

रिपोर्ट नेपाल | 2021 Sep 09 | 08:49 am 1393

काठमाडौं, भदाै २४:  काठमाडौंको चोभारमा निर्माण सम्पन्न भएको अत्याधुनिक सुक्खा बन्दरगाह (ड्राइपोर्ट) छिट्टै सञ्चालन हुने भएको छ। कोरोना संक्रमण र लकडाउनको असहज परिस्थितिमा पनि बन्दरगाहको निर्माण अघि बढेको थियो।

इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल आन्तरिक सजावट र व्यवस्थापनको काम सकिएपछि छिट्टै सञ्चालनमा आउने बताउँछन्। ‘भौतिक संरचना तयार भइसकेको छ।  अहिले सरसफाइ, रङरोगन, आन्तरिक सजावट र व्यवस्थापनको काम भइरहेको छ। यो छिट्टै सकिनेछ,’ उनले भने।

कोरोना संक्रमणको महामारी र त्यसको रोकथाम गर्न लागू गरिएको लकडाउनले निर्माण अन्योलमा पर्ने आशंका गरिएको थियो। तर यो असहज अवस्थालाई पनि अवसरको रूपमा उपयोग गरेर निर्माण सम्पन्‍न गरेको गजुरेल बताउँछन्। उनी भन्छन्, ‘हामीले कोरोनालाई बहानाभन्दा पनि एउटा अवसरका रूपमा उपयोग गर्‍र्यौं। स्वास्थ्य सुरक्षा र सावधानीका मापदण्ड र उपाय अपनाएर कोरोनाकालमा पनि धमाधम काम गरिरहेकोले यो सम्भव भएको हो।’

बन्दरगाहलाई तीन भागमा तयार गरिएको छ। तीन मुख्य डिपार्ट तथा भवन निर्माण गरिएको छ। एउटा डिपार्ट भन्सारका लागि छुट्ट्याइएको छ। अर्को डिपार्ट क्वारेन्टाइन र अर्को एउटा प्रशासनिक भवनका लागि व्यवस्था गरिएको छ।

बन्दरगाह हाताभित्र छिर्न फेरि तीनवटै मुख्य गेट निर्माण गरिएको छ। परिसरभित्र र आसपासको क्षेत्रमा रूखबिरुवा लगाउने काम अहिले धमाधम भइरहेको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले यो बन्दरगाह निर्माण गरेको हो। यो बन्दरगाहको योजना करिब २०१० मै तयार भएको थियो। निर्माणको काम २०१८ अगस्टदेखि सुरु भएको थियो। सुरुमा विश्व बैंकले १ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोग गरेको थियो।  आयोजना सम्पन्‍न हुँदा लागत केही बढेको छ। यो बन्दरगाह निर्माणको ठेक्का शान्ति आशिष जेभीले जिम्मा पाएको हो।

बन्दरगाह सञ्चालनमा आएपछि काठमाडौंमै भन्सार जाँचपासको काम सुरु हुनेछ। बन्दरगाहमै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइनलगायतका अत्याधुनिक कार्यालय रहनेछन्। बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह बनाउन लागिएको हो। यो बनेपछि सामान आयात–निर्यातमा सहज हुने कार्यकारी निर्देशक गजुरेल बताउँछन्। यहाँ चार लेयरमा कन्टेनर राख्न सक्ने गरी आधुनिक प्रविधिसहितको बन्दरगाह निर्माण गरिँदै छ।

कोलकाता, विशाखापटनम् र चीनको समुद्री बन्दरगाहबाट सामान बोकेर आएका कन्टेनर सीधै यहाँ आएर जाँचपास गर्न सकिने व्यवस्था गर्न लागिएको छ। यसका लागि सीमा नाकामा प्रवेश गरेपछि कन्टेनरमा सरकारले विशेष ‘ताल्चा’ लगाउनेछ। अहिले भन्सार जाँचपासको काम सीमा नाकामा रहेका भन्सार कार्यालय र बन्दरगाहले मात्रै गर्दै आएका छन्। नेपालबाट निर्यात हुने सामानको जाँचपास पनि यही बन्दरगाहबाट गर्न सकिने व्यवस्था मिलाउन लागिएको छ।

यो बन्दरगाहमा ३ सय ५० ट्रक र ६ सय वटा कन्टेनर अट्ने क्षमता छ। यो बन्दरगाह निर्माणपछि सामान आयातनिर्यात गर्न लाग्ने लागत र समय घट्नेछ।

बाहिरी चक्रपथ पनि बन्दरगाह बन्दै गरेको चोभारसँग जोड्ने योजना छ। काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गलाई पनि यहाँ लिंक गरिनेछ। चीन र भारतबाट आउने रेललाई पनि यो पोर्टसँग जोड्ने सरकारको योजना छ।  बन्दरगाह निर्माणपछि चोभार काठमाडौंको महत्वपूर्ण हब बन्‍ने विश्‍वास गरिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.