चुरे क्षेत्रमा खानेपानीको हाहाकार

| 2023 Mar 11 | 07:36 am 273

सर्लाही, फागुन २७ः सुक्खा बढ्दै जाँदा सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार मच्चिन थालेको छ। चुरे पाखोका बस्तीमा रहेका अधिकांश कुवा र इनार सुकेका छन्।

खडेरी लाग्ने केही महिना जिल्लाको चुरे क्षेत्रमा पर्ने भालुखोप, केराबारी, बेलडाँडा, विलन्दी, कौवा, दापडाँडा, कालिञ्जोर, गुइडुङ, परवानीपुर, नारायणखोला, अत्रौलीलगायतका क्षेत्रमा खानेपानीको समस्या हुने गरेको छ। बढ्दो वनविनाश र उत्खननले गर्दा पछिल्ला वर्षहरूमा खानेपानीका स्रोतहरू चाँडो सुक्न थालेका जानकार बताउँछन्।

चुरे क्षेत्रका बासिन्दा एक गाग्री खानेपानी जोहो गर्न घण्टौँ उकालीओराली गर्न बाध्य भएका छन्। गाउँका ४०/४५ घरधुरीका लागि एउटा मात्रै कुवा रहेको र त्यस कुवामा रातभरि जम्मा भएको पानीले दुई/चार घरलाई समेत नपुग्ने अवस्था रहेको हरिवन नगरपालिका–१, केराबारीकी रश्मिला जिम्बाले गुनासो गरे।

उनका अनुसार गाउँका अधिकांशले अहिले नजिकैको खोला, कुवा र छिमेकी गाउँबाट पानी ल्याएर खाइरहेका छन्। दूषित पानी पिउँदा स्थानीय बासिन्दा बर्सेनि झाडापखालालगायत अन्य पानीजन्य रोगको सिकार बन्दै आएका जिम्बाले बताए। लालबन्दी नगरपालिका–१२, भालुखोपका वीरबहादुर रानाले फागुनदेखि दुई/तीन महिना खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको गुनासो गरे। उनले सबैतिर सुक्खा लाग्दा मानिसलाई पिउने तथा सरसफाइका लागि र बस्तुभाउलाई खुवाउन पानीको अभाव भएको बताए।

वन क्षेत्रमा डढेलो लाग्न थालेसँगै चुरे भेगमा खानेपानीको अभाव थप बढेको ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरका वडाध्यक्ष देवीबहादुर खत्रीले बताए। चुरे भेगमा घरहरू छरिएर रहेका कारण खानेपानीको सुविधा पु-याउन निकै कठिनाइ भइरहेको वडाध्यक्ष खत्रीले बताए। चुरे भेगमा पर्ने ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाले खानेपानीका लागि बर्सेनि बजेट विनियोजन गर्दै आइरहेका छन्। गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.