चुनावपछि पनि बैंकमा बढेन निक्षेप

रिपोर्ट नेपाल | 2022 Jun 03 | 08:27 am 1361

काठमाडौं, जेठ: स्थानीय चुनाव सकिएको दुई साता बितिसक्दा पनि बैंकिङ प्रणालीमा अपेक्षा गरेअनुसारको निक्षेप संकलन हुन सकेको छैन। अझ चुनावअघि बैंकबाट बाहिरिएको हाराहारीमा पनि निक्षेप संकलन हुन नसकेको बैंकरहरू बताउँछन्। कर्जाको माग भए पनि प्रवाह गर्ने क्षमता नभएका बैंकहरूलाई स्रोत नै नबढेपछि यतिबेला लगानीयोग्य पुँजी अभाव  कायमै छ।

चुनाव सकिएर जेठ सुरु भएको दुई सातासम्म बैंकमा १३ अर्ब रुपैयाँले मात्रै निक्षेप बढेको छ। जेठ पहिलो साता ७ अर्ब र दोस्रो साता ६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको नेपाल बैंकर्स संघले मंगलबार सार्वजनिक गरेकोे तथ्यांकमा उल्लेख छ। सो हिसाबले निक्षेप संकलन हुँदा जेठ १३ गतेसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको कुल निक्षेप ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। सो कुल निक्षेपमा विदेशी मुद्राको निक्षेप १ खर्ब १० अर्ब रुपैयाँ रहेको छ। गत वैशाख ३० गतेको चुनावअघि अर्बौं निक्षेप बाहिरिएको थियो। नेपाल बैंकर्स संघकै तथ्यांकअनुसार वैशाख महिनाभर वाणिज्य बैंकबाट मात्रै २६ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो।

बैंकरहरू भने चुनावपछि बैंकिङ प्रणालीमा राम्रै निक्षेप फर्कने अपेक्षा गरेका थिए। नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय चुनावपछि जति अपेक्षा गरेको त्यति रकम जम्मा नभएकाले अचम्मित छन्। ‘अहिले सातामा ६–७ अर्ब मात्रै निक्षेप जम्मा हुनुलाई उनी चुनावपछिले खासै फरक नपारेको सामान्य नै रहेको तर्क गर्छन्। जति पैसा गयो त्यसको दुई सातादेखि एक महिना पेरीफेरीमा केही पैसा मात्रै प्रणालीमा आएको देखिन्छ,’ कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका संघका अध्यक्ष उपाध्याय भन्छन्, ‘चुनावले खासै सिग्निफेन्ट परिवर्तन ल्याएको देखिएन। दुई–तीन हप्ताअघि कर्जा घटेको थियो तर अहिले चार अर्बले बढेको छ। कर्जा बढ्नु भनेको लगानीमा जानु हो।’

  •     पछिल्लो साता ६ अर्ब निक्षेप संकलन हुँदा ४ अर्बको कर्जा प्रवाह
  •     कुल निक्षेप १८२ अर्ब बढ्दा ऋण ४७७ अर्ब वृद्धि

यसैगरी नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा अघिल्लो पटकको चुनावमा पनि खासै निक्षेप नबढेको र अहिले पनि खासै नबढेको बताउँछन्। उनका अनुसार अझै यसमा विदेशी मुद्राकै निक्षेप बढेकोले स्वदेशी निक्षेपसमेत गरेर यत्तिको देखिएको हो। उनले बजेटको प्रसंगमा बैंकहरूलाई आवश्यक पर्ने पर्याप्त तरलता भएकाले  अब आगामी मौद्रिक नीतिले केही व्यवस्था गर्न सक्ने अपेक्षा व्यक्त गर्छन्। ‘यद्यपि सरकारले विदेशी लगानी भित्र्याउन सहज गर्ने भनेको छ। साथै रेमिट्यान्सलाई प्रमोट गर्ने बजेटले सम्बोधन गरेकाले आगामी दिन बैंकमा निक्षेप बढाउन साथ देला कि भन्ने लागेको छ,’ शर्माले भने।

यता वाणिज्य बैंकको कर्जा प्रवाह गर्ने क्षमता कसिलो भएको भनिए पनि जेठ दोस्रो साता ४ अर्ब रुपैयाँ बराबरको प्रवाह भएको छ। यससँगै वाणिज्य बैंकहरूको हालसम्म कुल प्रवाहित कर्जा ४१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। सो कुल कर्जामा विदेशी मुद्राको ऋण ३९ अर्ब रुपैयाँ रहेको संघले जानकारी दिएको छ। यसबीच अधिकांश कर्जा एलसीमा गएको तर, नयाँ कर्जामा अझै गाह्रो भएको बैंकरहरू बताउँछन्। यद्यपि चालू आर्थिक वर्षको सो अवधिसम्म कुल निक्षेप १ खर्ब ८२ अर्ब रुपैयाँले बढ्दा ऋण ४ खर्ब ७७ अर्ब रुपैयाँले वृद्धि भएको छ।

यसरी हेर्दा निक्षेपको तुलनामा ऋण उच्च दरमा छ। जसले बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) औसत ९०.४१ प्रतिशत हाराहारी पुगेको छ। स्रोत संकलनको तुलनामा लगानीको माग बढ्दा समग्र बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी अभावको स्थिति कायमै छ। तर, अधिकांश बैंकले असार मसान्तसम्ममा सीडी रेसियो ९० प्रतिशतको सीमामा ल्याउनु पर्नेछ। सो सीमा कायम गर्न अझै समय रहेकाले बैंकहरू सजग रहेको तर्क गर्छन्। निक्षेप र कर्जाको असन्तुलन वृद्धिले कर्जा–निक्षेप अनुपात नियन्त्रणमा भने आउन सकेको छैन। अन्नपूर्ण पाेस्ट अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.