चीनमा रहेका विद्यार्थी लिन नेपाल एयरलाइन्सको वाइडबडी विमान चीन प्रस्थान

रिपोर्ट नेपाल | 2020 Feb 15 | 07:02 pm 1338

काठमाडौं, फागुन ३: चीनको कोरोना भाइरस प्रभावित क्षेत्र वुहानमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान शनिबार अपरान्ह चीन प्रस्थान गरेको छ ।

विद्यार्थी ल्याउन उडेको विमानमा ३ जना पाइलट, ६ जना क्याबिन क्रु ४ जना नेपाली सेनाका चिकित्सक, एक एक जना इञ्जिनियर र लोडमास्टर छन् ।

पाकिस्तानी पाइलटको कमान्डमा नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपाल वायुसेवा निगमको अनुसार चीनबाट आइतबार विहान साढे २ बजे फिर्ता हुने सेड्युल तय भएको छ ।

हुवेई प्रान्तका विभिन्न शहरबाट १ सय ८५ नेपाली विद्यार्थी स्वदेश फर्कने भएका छन् । उनीहरूलाई विमान चार्टर गरी उद्धार गर्न लागिएको हो ।

चीन जाने विमान चालक र अन्य कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष तालिम दिइसकेको छ । मन्त्रालयको अनुसार नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मी र चीन जाने जहाजका चालक दलका १६ सदस्यसहितको टोलीलाई तालिम दिइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.