काठमाडौं, माघ २६: चीनको हुवेई प्रान्तबाट स्वदेश फर्किन चाहने १ सय ८० जना नेपालीलाई तत्काल उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।
आफ्ना नागरिकलाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने आयोगको आइतबार बसेको बैठकले निर्णय गरेको हो ।
‘चीनको उक्त प्रान्तमा रहेका नेपाली नागरिकहरूको जीवन जोखिममा पर्नसक्ने तर्फ संवेदनशील भई उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन नेपाल सरकारलाई आयोग आग्रह गर्दछ’ बैठकपछि आयोगका सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आयोगले चीनबाट नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकारले गरिरहेको कामको जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगमा बोलाउने निर्णय पनि गरेको सचिव भट्टराईले जानकारी दिए ।
उनीहरुका अभिभावकले नेपालमा स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालयमा गई आफ्ना छोराछोरीलाई स्वदेश फर्काउन आग्रह गरिरहेका छन् ।
आयोगले चीनको हुवेई प्रान्तमा रहेका नेपालीको स्वास्थ्य अवस्थाको जानकारी लिन पनि सरकारलाई आग्रह गरेको छ ।