काठमाडौं, फागुन ४: चीनबाट उद्धार गरेर ल्याइएका १ सय ७५ जना नेपाली सबैलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि सीधै क्वारेन्टाइनमा लगिएको बताइएको हो ।
कोरोना भाइरसको उदगमस्थलबाट ल्याइएकाले उनीहरु सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने जनाइएको छ ।
उद्धार गरिएकाहरुलाई विमानस्थलबाट खरिपाटीसम्म पुर्याउन पाँच वटा बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो । ती गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर लगिएको थियो ।
खरिपाटीमा राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले उनीहरुको नमूना परीक्षण गर्नेछन् । नमूना परीक्षण गर्दा कुनै शंका लागेमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने अधिकारीहरुले बताएका छन् ।