चीनबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई चार स्थानमा राख्न प्रधानमन्त्रीको निर्देशन

रिपोर्ट नेपाल | 2020 Feb 06 | 03:13 pm 1429

काठमाडौं, माघ २३: प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई उपत्यकाका चार स्थानमा राख्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजना अनुरूप समग्र तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरूसहितको विशेष बैठकमा प्रधानमन्त्री ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई काठमाडौं र भक्तपुरका चार स्थानमा राख्ने व्यवस्था गर्न माग गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई यहाँ ल्याएपछि गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनावद्ध रूपमा गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.