चितुवाको छाला सहित ३ जना पक्राउ

| 2022 Feb 28 | 04:20 pm 1473

बाँके, फागुन १६ः बैजनाथ गाउँपालिका-५ गायत्री टोल बस्ने २८ वर्षीय याम बहादुर बिश्वकर्मा समेत ३ जनालाई दुर्लभ वन्यजन्तु चितुवाको १ थान छाला सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 उक्त स्थानमा चितुवाको छाला ल्याइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ

कञ्चनपुर, बेलौरी नगरपालिका-६ नकैया नाका आमबगैयाबाट करिब १० ग्राम ९१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित भारत पिलिभित तहशिल पुरनपुर थाना हजारा ग्राम बजारघाट बहेला गाउँ बस्ने २२ वर्षीय बलजित सिंहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट करिब ५ सय ९० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-३ बस्ने २२ वर्षीय आकाश लिम्बु र सुनसरि ईटहरी उपमहानगरपालिका-४ बस्ने २३ वर्षीया संजीता राई रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०२-०४७ प ५५५३ नम्बरको मोटरसाइकलाई प्रहरीले जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-५ भेटघाट चोक नजिक मेचीखोला बगरबाट करिब २ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, २ सय ४ पिस बिन्डलास विनस्पास्मो फोर्ट लेखिएको क्याप्सुल र नाईट्रोसन १० लेखिएको ट्याब्लेट १ पिस सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-३ दोकानडाँडा बस्ने १९ वर्षीय अविषेक श्रेष्ठ र भारत दार्जिलिङ घर भएका २२ वर्षीय अनमोल प्रधान रहेका छन् । सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचिपुल छेउबाट करिब ९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ईलाम माईचोगमाई गाउँपालिका-१ बस्ने २३ वर्षीय जोसेफ थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय काकड्भिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका थापालाई चाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैसेस्थित सडकमा बा.३ ००१ च ११४४ नम्बरको गाडीमा लुकाई ल्याएको करिब १० केजी अवैध लागूऔषध गाँजा सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गाडीका चालक भिमफेदी गाउँपालिका-५ बस्ने ३२ वर्षीय सविन रिजाल, सोही गाउँपालिका-८ बस्ने २५ वर्षीय सोमसिङ घलान, ५० वर्षीय संचर सिङ घलान र ६० वर्षीया जुठी माया घलान रहेका छन् । प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले भिमभेदीबाट हेटौंडातर्फ जाँदै गरेको उक्त गाडीलाई जाँच गर्दा तरकारी मुनि बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

पर्सा, वीरगञ्ज महानगरपालिका-२१ ताजपुर टोल बस्ने २६ वर्षीय गोबिन्द महतोको ना.२९ प २८८३ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय दिनानाथ प्रसाद महतोलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

आफनै घर अगाडि पार्किङ गरीरहेको अवस्थामा शुक्रबार राति उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सोही ठाउँस्थित परवानीपुर ढाटबाट मोटरसाइकल फेला पारी चोरीमा संलग्न महतोलाई पक्राउ गरेको हो । उनीउपर चोरी कसूरमा थप अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.