चितुवाको छाला र भालुको पित्तसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Feb 12 | 03:57 pm 1718

काठमाडौं, माघ २९: राष्ट्रिय स्तरमा संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोट नगरपालिका–११ का २५ वर्षीय विकास तामाङ र नुवाकोट ककनी गाउँपालिका–४ का सुवास लामा रहेका छन् ।

उनीहरुलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ गरेको महाशाखाले जानकारी दिएको छ ।

तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीबाट अवैधरुपमा वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोवार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा मङ्गलबार महाशाखाको प्रहरी टोलीले खोजी गरी पक्राउ गरेको बताइएको छ ।

खोजतलास गर्नेक्रममा वन्यजन्तुका अङ्गसहित उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

पक्राउ गरी उनीहरुलाई खानतलासी गर्दा संरक्षित चितुवाको छाला एक थान र भालुको पित्त बरामद गरिएको उनले बताए ।

उनीहरुले बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिंडिरहेका बेलामा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.