चितुवाको छाला जस्तो देखिने वस्तु सहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Jul 28 | 04:36 pm 1605

कञ्चनपुर, साउन १२ः कृष्णपुर नगरपालिका-३ देखतभुलीबाट चितुवाको छाला जस्तो देखिने २ थान वस्तु सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा डडेल्धुरा अमरगढी नगरपालिका-३ काडे घर भएकी ४० वर्षीया मालती मल्ल (सेठ्ठी) र सोही नगरपालिका-२ जोसिना घर भएका २९ वर्षीय मोहन सार्की रहेका छन् ।

विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त टोलीले कृष्णपुर नगरपालिका-३ देखतभुलीस्थित धानबारीमा उनीहरूले उक्त छाला जस्तो देखिने वस्तु लुकाई छिपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ मनाङगेट बस्ने दिप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा गोरखा धार्चे गाउँपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने २७ वर्षीय वीर बहादुर गुरुङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ८ सय ४० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

बझाङ, जयपृथ्वी नगरपालिका-९ सिमखेत बस्ने बिष्णु मण्डेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय दिपक खड्का समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ५ सय ७५ रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.