चितुवाको आक्रमणबाट तनहुँमा एक बालिका घाइते

रिपोर्ट नेपाल | 2020 Mar 17 | 07:58 am 2062

तनहुँ, चैत ४: चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही स्थानकी नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

सोमबार साँझ घरमा बसिरहेको अवस्थामा चितुवाले बालिकालाई आक्रमण गरेको प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

घरमै रहेका बुबाआमाले होहल्ला गरेपछि चितुवा भागेको थियो । छोरीलाई बाहिर राखेर एकैछिन घरभित्र पस्दा चितुवाले आक्रमण गर्न भ्याएको रहेछ, प्रहरी निरीक्षक रेग्मीले भने, होहल्लापछि थप घटना हुन पाएन ।

आक्रमणबाट बालिकाको पेटमा सामान्य चोट लागेको छ । उनलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ । गत फागुन २८ गते मात्रै चितुवाको आक्रमणबाट बन्दीपुर गाउँपालिका–५ याम्पामा सात वर्षीय अनुप नेपाली घाइते भएका थिए ।

जिल्ला चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क छ । बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.