काठमाडौँ, ३ पुष / कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर चितवनले कर्णालीलाई सुरुमा ब्याटिङको निम्तो दिएको छ। चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्दै कर्णालीका कप्तान सोमपाल कामीलाई ब्याटिङको निम्तो दिएका हुन्।
लिग चरणमा तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सले प्लेअफ पक्का गरेका थिए। क्वालिफायर २ मा पुग्नका लागि चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल जित्ने टोलीले फाइनल पुग्न अन्तिम प्रतिस्पर्धाको मौका पाउने छ। पराजित टोली प्रतियोगितामा चौथो स्थानमा रहेर यात्रा अन्त गर्नेछ।
लिग चरणमा चितवन र कर्णाली दुवैले ७ मध्ये समान ४ खेल जितेका थिए। ८ अंक जोडेपनि नेटरनरेटमा चितवन कर्णालीभन्दा अघि रहँदै तेस्रो भएको थियो। अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएपनि ८ अंक जोडेको अर्को टोली काठमान्डु गुर्खाजलाई नेटरनरेटमा पछि पार्दै कर्णाली याक्स प्लेअफ पुग्ने चौथो अर्थात अन्तिम टोली बनेको थियो।