चितवनको माडीमा जङ्गली हात्तीको आतंक

रिपोर्ट नेपाल | 2018 Sep 16 | 05:36 pm 2514

चितवन, भदौ ३१ : पटक पटक जंगली हात्तीको आतंकबाट त्रसित माडी क्षेत्रका स्थानीय बासीहरु फेरी आतंकित बनेका छन् । प्राप्त समाचार अनुसार विगत दुई हप्तादेखि पर्सा निकुञ्जबाट जङ्गली हात्तीको हुल माडी क्षेत्रमा छिरेपछि माडी क्षेत्र र त्यस आसपासका स्थानीय बासीहरु त्रसित र आतंकित भएका छन् ।

स्थानीय बासीले रिपोर्ट नेपाललाई दिएको जानकारी अनुसार पन्ध्र दिनदेखि जंगली हात्तीको एउटा हुल माडी क्षेत्रमा प्रवेश गरेर स्थानीयलाई आतंकित पारेका छन् ।

शनिबार राति पनि माडी नगरपालिका–७ गौरीनगरमा हात्तीको बथान पसेर धान खेती नष्ट गरेको छ । हात्ती रातको समयमा बस्ती पस्ने र दिनभर वन क्षेत्रमा बस्ने स्थानीयको भनाई छ ।

यस विषयमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालसँग सम्पर्क गर्दा उनले हवाइ फायर, ट्र्याक्टरको आवाज र राँको बाल्ने, शङ्ख फुक्ने र होहल्ला गरेर हात्ती लखेट्ने काम भइरहेको जनाएका छन् ।

स्थानीयलाई सुरक्षाकर्मीले हात्ती लखेट्न सहयोग गरिरहेको बताउदै अधिकृत ढकालले मानवीय क्षति हुन नदिन उच्च सावधानी अपनाउन सबैमा अपिल गरिएको बताएका छन् ।

ढकालका अनुसार हात्तीको बथान बगइ हुँदै अन्य क्षेत्रमा पसेको हो । त्यस क्षेत्रमा १५÷१६ हात्तीको बथान आएको बताइएको छ ।

जसबाट दुई हात्ती छुट्टिएर सुखीभार क्षेत्रमा पुगेको पनि ढकालले बताए । विशेष गरी जंगली हात्तीको बथान धान पसाउने समयमा आउने र धानसँगै घरमा भण्डारण गरिएको खाद्यान्न खाइदिने, घर भत्काउने, मानिसलाई आक्रमण गर्ने गरेको कुरा पनि स्थानीयले दुखेसो पोखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.