चिकित्सा शिक्षा विधेयकको विरुद्धमा आन्दोलन गर्नु कुनै तुक छैनः नेता नेपाल

| 2019 Jan 26 | 02:24 pm 1837

पोखरा, माघ १२ राष्ट्रिय चिकित्सा शिक्षा विधयेकको विभिन्न पक्षहरुले विरोध गरिरहेका बेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले यसको विरोध गर्नुमा कुनै तुक नभएको स्पष्ट पारेका छन् ।

संसदबाट चिकित्सा शिक्षा विधेयक विधिसम्मत पारित भएकाले त्यसविरुद्ध आन्दोलनको कुनै औचित्य नभएको नेता नेपालको भनाई छ ।

प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले कानूनमा चित्त नबुझे छलफल गरी समयक्रममा मिलाउन सकिने भएकाले आन्दोलनको बाटोमा नलाग्न प्रमुख प्रतिपक्ष कांग्रेसलाई आग्रह समेत गरेका छन् ।

नेता नेपालले भने हिजोका कतिपय कानूनमा हामीलाई पनि चित्त बुझेको थिएन, तर हामी आन्दोलनमा गएनौँ, आज देश विकासको काममा जुट्नु पर्ने बेला आन्दोलन गर्न नहुँने बताए ।

वायु सेवा निगमको वाइडबडी जहाज खरिद, ३३ किलो सुन काण्ड, बुढीकगण्डकी जलविद्युत आयोजना, आयल निगमको जग्गा खरिदमा लगायतमा अनियमितता भएको भए छानविन गरी दोषी ठहरिए कारबाही गर्नुपर्ने र गरिने पनि समेत बताए । दोषीलाई जोगाउने पक्षमा नेकपा नरहेको नेता नेपालले स्पष्ट पारेका छन् ।

शुक्रबार संसदबाट पारित चिकित्सा शिक्षा विधेयकले उक्त क्षेत्रमा गुणात्मक सुधार गर्ने एउटा अभियानलाई नेतृत्व गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

डा गोविन्द केसीसँग भएको सम्झौता अनुसारनै विधेयक आएको भन्दै सबै कुरा समावेश नभएको केसीको कुरामा संसदको छलफलमा सम्झौताको मुल पक्ष सही भएकाले स्वीकृत भएको उनको भनाई थियो ।

विधेयक स्वीकार गर्ने कुरा संसदको सार्वभौम अधिकार हो उनले भने, विधेयक पारित हुनुमा डा केसी लगायत चिकित्सा क्षेत्र सुधारमा लाग्नेलाई धन्यवाद दिनुपर्छ । यसमा अरु राजनीतिक कुरा जोडिनु नहुँने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.