चिकित्सा विधेयक पारित भए लगत्तै डा. केसीले मागे प्रधानमन्त्रीको राजीनामा

| 2019 Jan 25 | 07:00 pm 1971

काठमाडौं, माघ ११ :  डा. गोविन्द केसीले आफ्नो सत्याग्रह जारी रहेको जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिन माग गरेका छन् ।  प्रतिनिधिसभाले बहुमतबाट पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको बारेमा प्रतिक्रिया दिन आयोजित पत्रकार सम्मेलनमा डा. केसीले राजीनामा माग गरेका हुन्।

‘आफैँले गराएका सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्यूत तथा आफ्नै वितगका कुराबाट विचलित प्रधानमन्त्री केपी शर्मा ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ’, केसीको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्रीको निर्णय क्षमता र उहाँको स्वास्थ्य क्षमता तथा उहाँले लिइरहेको औषधीका कारण प्रभावित भएको र त्यसको मूल्य राष्ट्रले चुकाइरहनुपर्ने दुर्भाग्यपूर्ण कुरा हो।’

डा. केसीले अनशन जारी रहने पनि जानकारी गराएका छन्। उनले चिकित्सा शिक्षा लगायतका १६ औँ अनशनका माग पूरा गराउन आग्रह गरेका छन्।

यसअघि आफ्नो सम्झौताविपरीत विधेयक पास भए १६औँ सत्याग्रह सुरु गर्ने पटकपटकको समय दिँदै आएका थिए। तर, आफूसँग भएका सहमतिविपरीत विधेयक शिक्षा तथा स्वास्थ्य समितिबाट पास भए पछि गत पुस २५ गते डा केसीले इलामको सहरी विकास परियोजनाको कार्यालय परिसरबाट अनशन सुरु गरेका थिए।

पछि केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि गत माघ तीन गते बिहीबार राति डा केसीलाई नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।

प्रेस विज्ञप्ति

आदरणीय आम नागरिक, दाजुभाइ तथा दिदीबहिनीहरु

नेपालको स्वास्थ्य र चिकित्स शिक्षा क्षेत्रको सुधार तथा सुशासनका लागि हामी निरन्तर संघर्षरत रहेकोमा हाम्रो विगत सात वर्षको संघर्षको प्रतिफल स्वरुप राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी हुने अवस्थामा पुगेको थियो । यसबीच सरकार आफैंले गठन गरेको विज्ञहरुको उच्चस्तरीय कार्यदलको प्रतिवेदनका साथै यस अगाडि सरकारहरुले जारी गरेका अध्यादेशहरुसमेतबाट दीर्घकालीन सुधारका लागि कस्तो ऐन आउनुपर्छ भन्ने तय भइसकेको अवस्था थियो । त्यसै आधारमा यस अगाडि १५ औं सत्याग्रह टुंग्याउने क्रममा नेपाल सरकारसँग बुँदागत सम्झौता भएको थियो ।

तर उक्त विधेयक पारित गर्ने काम अन्तिम अवस्थामा आएपछि प्रतिनिधि सभामा सत्तारुढ दलले जालझेल र जबर्जस्ती मात्रै गरेन, प्रधानमन्त्री तथा संसदीय दलको नेताले गराएको सम्झौता प्रतिकुल हुने गरी विधेयक पारित गर्यो । यसले सरकार तीन करोड नागरिकको गुणस्तरीय र सर्वसुलभ सेवा पाउने अधिकारलाई भन्दा बढी महत्व पार्टीसँग साँठगाँठ भएका अमुक मेडिकल कलेजहरुको स्वार्थलाई दिएको पुष्टि भएको छ । त्यसले सम्पूर्ण नेपाली नागरिकहरुमाथि नै सुनियोजित रुपमा धोका भएको छ । त्यसैले हामीले पौष २५ गतेदेखि शुरु गरेको सत्याग्रहलाई जारी राख्ने जानकारी गराउँदै तथा चिकित्सा शिक्षा विधेयकका अतिरिक्त हामीले राखेको बाँकी छवटा मागहरु पूरा गर्न स्मरण गर्छौं ।

आफैंले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत तथा आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्री के पी शर्मा ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ । प्रधानमन्त्रीको निर्णय क्षमता उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मुल्य राष्ट्रले चुकाइरहन पर्नु दुर्भाग्यपूर्ण कुरा हो ।

साथै, आज सत्याग्रहको पक्षमा प्रदर्शन गरिरहेका नागरिकहरुलाई धरपकड र गिरफ्तार गरिएकोमा तत्काल सकुशल रिहाइको माग गर्दै हाम्रो अभियानमा सहभागी हुन सबै नागरिकहरुलाई खूला अपिल गर्दर्छौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.