काठमाडौँ, भदौ ३: लामो समय देखि विवादमा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले सरोकारवालासँग छलफल गर्ने भएको छ ।
समितिको आइतबार बसेको बैठकले विधेयकका बारेमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा गोविन्द केसी, नेपाल चिकित्सक संघका पदाधिकारीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिए।
विधेयप्रति डा गोविन्द केसीले माथेमा आयोगको प्रतिबेदन अनुसार गर्नु पर्ने भन्दै २७ दिन सम्म आमरण अनशन बसेका थिए । सरकारले डा गोविन्द केसीको माग प्रति लचिलो बन्दै अनशन तोडाएको थियो ।
विधेयक माथिको सैद्धान्तिक छलफलमा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षामा विपन्न तथा गरीबका लागि विशेष व्यवस्था गरेर पहुँचको सुनिश्चित गरिने प्रतिबद्धता जनाएका थिए ।
मन्त्री पोखरेलले भने, “शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक कायम गर्ने विषयमा विधेयकमा पर्याप्त ध्यान दिइने छ, सामाजिकरूपमा पछि परेकालाई न्याय दिने विषयलाई स्थापित गरिनेछ, समाजवादउन्मुख र समावेशीका विषयमा हामी पछि हट्न हुँदैन, सेवा क्षेत्रको रूपमा रहेको शिक्षा र स्वास्थ्यका विषयमा हामीबीच साझा सहमति हुन आवश्यक छ ।”
मौलिक अधिकारका रूपमा रहेको शिक्षा र स्वास्थ्यको विषयलाई अरू उद्योग र कारखानाको रुपमा हेरिन नहुने तर्क गर्दै मन्त्री पोखरेलले विधेयकले प्रदेशको अधिकारलाई खुम्च्याउने काम नगरेको स्पष्ट पारेका थिए ।