चिकित्सकको लापरवाहीले सुत्‍केरीको मृत्यु, स्थानीयको प्रदर्शनपछि कर्मचारीको भागभाग

| 2018 Dec 21 | 10:54 am 2202

लहान, पुस ६: चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले लापरवाही गर्ने चिकित्सकमाथि कारवाहीको मागसहित प्रदर्शन गरेका हुन् ।

व्यथाले चयापेपछि बुधबार साँझ लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भर्ना गरिएकी सञ्जुलाई त्यहाँबाट चिकित्सकले विराटनगर वा धरान लैजान सल्लाह दिएकाले परिवारजनले बाहिर लैजान तयारी गरेका बखत एक एम्बुलेन्स चालकले ओम गुरुकुल हेल्थ केयर प्रालिमा लैजान सल्लाह दिए र उनैले आफ्नै एम्बुलेन्समा सञ्जुलाई त्यहाँ ल्याएको मृतकका आफन्तले बताए ।

अस्पतालमा भर्ना भएको केही समयपछि त्यहाँका चिकित्सकले सञ्जुलाई शल्यक्रिया गर्नुपर्ने जानकारी दिँदै शल्यक्रियापछि बच्चा निकाल्न सफल भएका थिए ।

बच्चा जन्मेको केहीबेरपछि सञ्जुको स्वास्थ्य बिग्रिन थालेपछि चिकित्सकले रगत चढाउन शुरु गरे पनि विस्तारै÷विस्तारै सञ्जुको अवस्था झन्झन् नाजुक बन्दै जान थालेपछि चिकित्सकको सल्लाहमा उनलाई अक्सिजन लगाएर थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्‍याउन लाग्दा बाटेमै उनको मृत्यु भइसकेको आफन्तले बताए ।

मृतकका आफन्तले होहल्ला सहित प्रदर्शन गर्न थालेकाले उक्त हेल्थ केयरको सुरक्षाका लागि अहिले प्रहरी परिचालन गरिएको र त्यहाँका सञ्चालकका साथै सम्पूर्ण कर्मचारी सम्पर्कविहीन भएको लहान इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.