धनगढी, भदाै ११ । पत्थरीको शल्यक्रिया गर्न आएका बिरामीको मिर्गाैला निकालिदिए पछि कंचनपुर वेलौरी नगरपालिका वडा नं १० शिवनगर बस्ने ५६ वर्षीय ऐजनलाल चौधरीको ज्यान गएको छ।
स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको उपचार गर्उन उनी शनिवार बिहान स्वस्तिक अस्पतालमा भर्ना भएका थिए। चिकित्सक जोनेश तिवारीले उनको पत्थरीको शल्यक्रिया गरेका थिए।
‘डाक्टर आएर अप्रेसन सफल भयो भनेर भने, हामी खुसी भयौ’ मृतकका भतिजा राजकुमार चौधरीले भने। शल्यक्रिया गरेर पत्थरी निकालेपनि शल्यक्रिया गर्दा त्रुटि भएको उनको भनाई छ।
शल्यक्रिया गरेको करिब १ घण्टापछि पेट फुल्दै गएको र दुख्न थाल्यो भनेर बिरामीले भन्न थाले। आफन्तले बिरामीको पेट फुल्न थालेको र दुखाई बढेको भनेपछि नर्सले दुखाई कम हुने इन्जेक्सन लगाईदिईन् तर बिरामीको अवस्था बिग्रँदै गयो। शल्यक्रिया गर्ने चिकित्सक आएनन्। ७ बजे चौधरी बेहोस भए। बिरामीको अवस्था बिग्रँदा पनि समयमै चिकित्सक नआएर ढिलो आएको आफन्तको भनाई छ।
साँझ ८ बजे आएका चिकित्सकले सिरिन्ज बाट पेटभित्र भरिएको रगत झिक्ने प्रयास गरे। पत्थरीको शल्यक्रिया गर्दा भएको लापरबाहीले मिर्गाैलाबाट भएको व्यापक रक्तश्राव नरोकिएपछि राती १२ बजेतिर डाक्टरले मिर्गाैला नै झिक्ने निधो गरे।
‘राती १२ बजे आएर डाक्टरले बिरामीको ज्यान बचाउन किड्नी झिक्नु पर्छ भन्नु भयो’ मृतकका छोरा बुद्धिराम चौधरीले भने, ‘बुवाको ज्यान नै नबाच्ने भएपछि मिर्गाैला झिकेर हुन्छ भने पनि हामीले ठिकै छ भन्यौँ’।
आइतबार बिहान २ बजे डाक्टर फेरी आएर किड्नी देखाउँदै शल्यक्रिया सफल भएको बताए। तर शल्यक्रिया पछि बुबा राखेको ठाउँमा जान नदिएको उनले बताए।
‘बुबाको आइतबार दिउसो २ बजे नै मृत्यु भईसकेपनि हामीलाई आज सोमबार मात्र जानकारी दिइयो’ उनले भने, ‘डाक्टरले लापरबाही गरेर मेरो बुबालाई मारिदियो’। लापरबाही गरेर बुबालाई मार्ने चिकित्सक तिवारीलाई कारबाही हुनुपर्ने आफन्तको माग छ।
स्वस्तिक अस्पतालले सोमबार बिहान साढे ९ बजे चौधरीको मृत्यु भएको बताएको छ।
स्वस्तिक अस्पतालका अध्यक्ष महेश जोशीले शल्यक्रियामा डाक्टरको लापरबाही भएको बताए। पत्थरीको शल्यक्रिया गरेपछि मिर्गाैलाबाट भइरहेको रक्तश्राव नरोकिएकोले मिर्गाैला निकालिएको उनले बताए।