चालू आर्थिक वर्षको वैशाखसम्म रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि

| 2021 Jun 15 | 09:15 am 1817

काठमाडाैं, असार १ः चालू आर्थिक वर्षको वैशाखसम्म नेपालमा भित्रिने रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा वैशाखसम्ममा ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको उल्लेख गरेको छ ।

रेमिट्यान्सको आप्रवाह बढे पनि वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले मात्र घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कोभिड–१९ को महामारीले गर्दा वैदेशिक रोजगारीमा जानेको संख्या घटेकाले रेमिट्यान्ससमेत प्रभावित हुने अनुमान गरिएको थियो । तर, कोरोना महामारीले वैदेशिक व्यापार, भ्रमण तथा शैक्षिक गतिविधिमा विदेश जाने संख्या ठप्प हुँदा हुन्डीलगायतका अनौपचारिक च्यानल बन्द हुँदा बैंकिङ च्यानलबाट भित्रिने रकम बढेको हो ।

यसैगरी चालू खाताको घाटा पनि बढेको छ भने शोधानान्तर बचत पनि घटेको छ । आर्थिक वर्ष २०७७-७८ को १० महिनामा चालू खाता २ खर्ब ४७ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९६ अर्ब १८ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही वैशाखसम्ममा निर्यात ३२.२ प्रतिशतले वृद्धि भई १ खर्ब ०८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले वृद्धि भएको थियो । भारत तथा अन्य मुलुकतर्फ क्रमशः ३५.८ प्रतिशत र २५.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १८.४ प्रतिशतले कमी आएको छ ।

यसैगरी वैशाखसम्ममा आयात २२.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९.८ प्रतिशत, १७.२ प्रतिशत र ६.२ प्रतिशतले वृद्धि भएको छ । वैशाखसम्ममा वस्तु व्यापार घाटा २१.५ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । वैशाखसम्ममा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.३ प्रतिशतले बढ्दा कर्जा २३.८ प्रतिशतले बढेको छ ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न राष्ट्र बैंकले २०७८ वैशाख मसान्तमा १ खर्ब २८ अर्ब ४४ करोड रुपैयाँ सहुलियत दरमा पुनर्कर्जा प्रदान गरेको छ । यस्तै विभिन्न प्रकारका सहुलियत कर्जाअन्तर्गत ९५ हजार ८०६ ऋणीलाई १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.