काठमाडौँ ३० चैत / मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ।
मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषद बैठक बस्नुअघि सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्ता गरेका थिए।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो।
उक्त भेटपछि अध्यक्ष ओलीले संसद अधिवेशन अन्त्य हुने प्रतिक्रिया दिएका थिए।