चार वर्षको खर्च एक तिहाइ मात्रै

| 2022 Jun 13 | 07:25 am 1001

काठमाडौँ, जेठ ३०ः विश्व बैङ्कले दूध र मासुमा उत्पादनमा करिब सात अर्ब रुपियाँ (पाँच करोड ५० लाख अमेरिकी डलर) लगानी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत सहुलियत ऋण सहयोगमा सो लगानी गरेको हो ।

दूध र मासुको उत्पादन वृद्धि गर्न विश्व बैङ्कको ऋण सहयोगबाट कृषि मन्त्रालयले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना नै सञ्चालन गरेको छ । सो आयोजना विगत चार वर्षदेखि सञ्चालनमा रहेको छ ।

आगामी वर्षभित्र सकिने यस आयोजनाको चालू आर्थिक वर्षमा तेस्रो चौमासिकसम्मको भौतिक प्रगति ६७.९६ प्रतिशत रहेको निर्देशक दाहालले बताए । आव २०७४/७५ देखि सुरु भएको सो आयोजना २०८०/८१ मा सम्पन्न हुँदै छ । चार वर्षमा सम्पूर्ण रकमको ३५ प्रतिशत रकम मात्र खर्च भएको आयोजनाका निर्देशक डा. उमेश दाहालले जानकारी दिए । अबको बाँकी एक वर्षमा सम्पूर्ण रकमको ८५ प्रतिशतसम्म खर्च हुने उनले बताए ।

यो आयोजनाले पाँच प्रदेशका २८ जिल्लाको २८९ स्थानीय तहमा दूध, खसीबोकाको मासु, पस्मिनालगायतको उत्पादनमा लगानी गरेको छ । “जहाँजहाँ यो आयोजना सञ्चालन भइरहेको छ, त्यहाँ दूध उत्पादन ४० प्रतिशत र मासु उत्पादन २० प्रतिशतले वृद्धि भएको छ,” आयोजनाका निर्देशक दाहालले भने तर आयोजनाले देशैभरिको दूध र मासु उत्पादनमा कस्तो प्रभाव पारेको छ भन्ने अध्ययन भइनसकेको तर यसले देशभरकै उत्पादनमा सकारात्मक प्रभाव पारेको हुनेपर्ने उहाँले दाबी गरे ।

यस आयोजनाबाट सञ्चालित उपआयोजनामा नेपाली बैङ्क तथा वित्तीय संस्था, व्यक्तिगत समूह वा सहकारीले पनि लगानी गरेका छन् ।  आयोजनाले कुल लगानीको ५० प्रतिशत अनुदान कृषकलाई दिने गरेको छ । यस आयोजनाअन्तर्गत अनुदान दिन दुई करोड ५० लाख डलर छुट्याइएको छ । विश्व बैङ्क, सरकार तथा अन्य स्रोतबाट गरी यो आयोजनाको कुल लगानी आठ करोड ७० लाख डलर हुने उनले बताए । मेगा प्रोजेक्टका रूपमा अगाडि बढाइएको यस आयोजनामा नेपाल सरकारको लगानी करिब सात करोड अमेरिकी डलर रहेको छ ।

दूध र मासु उत्पादनमा वृद्धिका लागि नीतिगत सुधारको आवश्यकता रहेको भन्दै सो आयोजनाबाट पशुको क्षेत्रमा नीतिगत काम पनि भएको छ । आयोजनाले राष्ट्रिय पशु स्वास्थ्य नीति, राष्ट्रिय प्रजनन नीति बनाउन पनि लगानी गरेको छ । यो नीति मन्त्रिपरिषद्बाट पास भएर कार्यान्वयनमा आइसकेको छ । त्यस्तै आयोजनाले सङ्क्रमण पशु रोग नियन्त्रण ऐन, पशु कल्याण ऐन ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट त्यसको सैद्धान्तिक सहमति पनि आयोजनाले प्राप्त गरिसकेको छ ।

त्यसैगरी पशु पोषण रणनीति र पशु पहिचान रणनीति बनाउने तयारी भइरहेको छ । पशुसेवा विभागको समन्वयमा आयोजनाले खोरेत रोगका लागि चाहिने खोपको व्यवस्थापन गर्ने कार्य पनि गरिरहेको छ । प्रत्येक प्रदेशमा एउटाका दरले हालसम्म ५० लाख डोज भ्याक्सिन भण्डारण गर्न सक्ने क्षमताका प्रत्येक प्रदेशमा सातवटा प्रिफ्याब कोल्ड रुम तयार गरेको छ । यी कोल्ड रुम मुख्यतः प्रदेशस्तरमा भ्याक्सिन बैङ्कका रूपमा रहने निर्देशक दाहालले बताए ।

आयोजनाले विभिन्न पाँच ठाउँमा पशु हाटबजार स्थापना गर्ने भएको छ । पाँच ठाउँमध्ये बर्दिया, रुपन्देही, चितवन, झापामा स्थापना भइसकेका छन् भने मोरङमा निर्माण कार्य जारी रहेको उनले जानकारी दिए । साथै पशुका लागि भिडियो एक्स–रे मेसिन पनि वितरण गरिएको छ । पशु नश्ल सुधारका लागि अमेरिकाबाट सातवटा गाई ल्याइसकिएको छ । वंशावली नश्ल सुधार कार्यक्रमअन्तर्गत ती सातवटा साढे ल्याइएको हो । यी साढेबाट नश्ल सुधार भएपछि दूध उत्पादनमा वृद्धि हुने विश्वास आयोजनाले लिएको उनले जानकारी दिए । आयोजनाले घाँस उत्पदानमा पनि लगानी गरेको छ ।

डेरी उद्योगीलाई ५० प्रतिशत अनुदान दिएर चितवनमा दूध तथा दुग्धजन्य पदार्थ राख्नका लागि कोल्डस्टोर पनि स्थापना गरिएको छ । दूध सङ्कलनका लागि चिलिङ सेन्टर पनि ठाउँठाउँमा स्थापना गरिएको छ । आयोजनाले जति पनि गतिविधि गरिरहेका छन्, ती सबै दूध तथा मासु उत्पादनमा वृद्धिका लागि गरिएको बताउँदै उहाँले यसमा विश्व बैङ्कको ठूलो सहयोग रहेको बताए।

कृषिका अन्य क्षेत्रमा पनि विश्व बैङ्कको लगानी छ तर दूध र मासुमा लगानी भएको यो नै पहिलो आयोजना रहेको उनले बताए । नेपाल दूध र मासुमा लगभग आत्मनिर्भर नै रहेको बताउँदै उनले यो आयोजना सकिएपछि देशभरको दूध र मासु उत्पादनमा यसले कस्तो प्रभाव प-यो, त्यसको पनि तथ्याङ्क सङ्कलन गरिने बताए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.