चार अमर शहीदकाे सम्झनामा आजदेखि शहीद सप्ताह सुरु

रिपोर्ट नेपाल | 2021 Jan 23 | 09:12 am 4197

काठमाडाैं, माघ १०ः जहाँनिया  राणा शासनकाे विरुद्धमा जीवन उत्सर्ग गरेका चार अमर शहीदकाे सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएकाे छ । विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आज माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम तालिकाअनुसार शनिबार  बिहान ८ः०० बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेका स्थानमा श्रद्धाञ्जली सभा आयाेजना गरी सप्ताहकाे शुभारम्भ गरिँदै छ । त्यस्तै माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेका स्थानमा र माघ १५ गते बिहान ८ः०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिने छ ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र शहीदहरुको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ ।

शहीद सप्ताह मूल समारोह समितिका संयोजकको रूपका कामपाको प्रमुख विद्यासुन्दर शाक्य रहने भएकाे छ ।

सप्ताहकाे अन्तिम दिन माघ १६ गते सहिद दिवस मनाइन्छ । देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.