चर्चको प्रशंसा र १४ सन्तानकी आमा हानको सम्मानमा सबैले शिर झुकाए

| 2018 Dec 02 | 08:03 am 1894

काठमाडौं, मंसिर १६ : राजधानीमा जारी एसिया प्यासिफिक समिटमा बोल्‍ने अधिकांश वक्ताले युनिफिकेसन चर्चको प्रशंसा र त्यसकी प्रमुख तथा १४ सन्तानकी आमा हक जा हान (म्याडम मुन) को अघि शिर निहुर्‍याउँदै सम्मान व्यक्त गरेका छन्।

मुन सन् १९५४ मा युनिफिकेसन चर्च स्थापना गर्ने कोरियाली धार्मिक नेता सन म्युङ मुनकी पत्नी हुन्। सन् २०१२ मा म्युङको निधनपछि हानले नै चर्चका गतिविधिहरूलाई विश्वव्यापी रूपमा अघि बढाइरहेकीछन्। मुनले आफू ४० वर्षको छँदा १७ वर्षीया हानलाई सन् १९६३ मा बिहे गरेका थिए। उनीहरूबाट १४ सन्तान जन्मिएकामा १० जीवित छन्।

उद्घाटन समारोहका सबैजसो वक्ताले इसाई धर्म र युनिफिकेसन चर्च प्रमुख हकको प्रशंसा गरे। ‘उहाँको अनुहारको कान्ति हेर्नुस्, कस्तो चमक छ।’ भारतीय जनता पार्टीका नेता विजय जोलीले हानलाई सम्बोधन गर्दै भने, ‘उहाँ साक्षात् शान्तिको दूत हुनुहुन्छ, यो संसारलाई उहाँको जन्मले पवित्र पारेको छ। एकपटक हामी सबै उहाँको सम्मानमा उठौं।’

जोलीले यसो भनेलगत्तै उद्घाटन सत्रमा सहभागी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख कृष्णबहादुर महरा, उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापादेखि दर्जनौं सचिव, मेयरलगायत उच्च पदस्थ नेपाली, म्यानमारकी नेतृ आङ सान सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेनलगायत ७ देशका राष्ट्र/सरकार प्रमुख/उपप्रमुख र ५० देशका १५ सय सहभागी आफूलाई ईश्वरको एकमात्र अवतार दाबी गर्ने ‘म्याडम मुन’ को अघिल्तिर उठेका थिए।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले बुद्ध जन्मेको देश नेपाल संसारको पुराना सभ्यतामध्येको एक भएको र यस्तो खालको कार्यक्रम नेपालमाआयोजना हुँदा खुसी लागेको बताए। सम्बोधनलगत्तै उनी राष्ट्रसंघीय कार्यक्रममा पोल्यान्ड जान लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्न विमानस्थलतिरलागेका थिए।

त्यसपछि चर्च र हानको प्रशंसा गर्ने तथा उनैले आफूलाई ईश्वरको अवतार दाबी गर्ने क्रम सुरु भएको थियो। श्रीमती हानले भनिन्, ‘परमेश्वरमाथि विश्वास गर, मैले भनेको मान। कसैले दु:ख पाउने छैन। अब म यो भूमिलगायत एसिया प्रशान्त क्षेत्रलाई नै शान्ति क्षेत्र र यहाँका मानिसलाई ईश्वरका प्यारा सन्तान भएको घोषणा गर्छु।’ हुन सेन, सुकीलगायतले पनि सम्बोधन गर्दै सम्मेलन भव्य रूपमा आयोजना भएकामा खुसी लागेको बताएका थिए।

सभामा उपस्थित सबैले तालीको गडगडाहटकासाथ उनको घोषणालाई स्वागत गरे। मातृभाषा कोरियालीमा बोलेकी हानको भाषणलाई नेपाली,अंग्रेजी, जापानी, रुसीलगायत भाषामा अनुवाद गरिएको थियो।

‘म्याडम मुन हामी सबकी एकमात्र आमा हुनुहुन्छ,’ पूर्वप्रधानमन्त्री तथा कार्यक्रमको आमन्त्रण समितिका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री ओलीको सम्बोधनपछि कार्यक्रम आयोजक संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) का अन्तर्राष्ट्रिय अध्यक्ष थोमस वाल्सले भने, ‘उहाँले बोल्दा सम्मान प्रकट गर्न र ध्यान दिएर सुन्न म सबैलाई आग्रह गर्न चाहन्छु।’

सम्मेलन ‘म्याडम मुन’ र उनको चर्चको प्रचारका लागि गरिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस त्यसमा सहभागी भएन।

‘धर्म प्रचार गर्ने एउटा संस्थामा सरकार सहआयोजक हुनु नै दु:खद हो, यसमा राज्यका सबै संयन्त्रको दुरुपयोग भएको छ,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘त्यसैले हामी यसमा गएनौं, जानु उचित पनि थिएन ।’ यही आशंकाले आफूहरू सम्मेलनमा सहभागी नहुने संस्थागत निर्णय नै गरेको कांग्रेसले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.