चर्को भाडा असुल्दै यातायात व्यवसायी

रिपोर्ट नेपाल | 2022 Jul 05 | 08:06 am 2053

कालिकाेट, असार २१ः कालिकोटमा यातायात व्यवसायीले मनपरी भाडा असुलिरहेको पाइएको छ। कालिकोट सदरमुकाम मान्मबाट देशका विभिन्न क्षेत्रमा चल्ने यातायातका साधनमा मनपरी भाडा लिएको पाइएको हो।

कालिकोटको जितेबाट सुर्खेत गएका सान्नीत्रिवेणी गाउँपालिका–६ का मुक्तिप्रसाद सज्यालले विभिन्न यातायात समितिको भाडा दर फरकफरक रहेको बताए। उनले आफूले तीनवटा समितिसँग कुरा गर्दा सबैले फरकफरक भाड दर सुनाएको भन्दै कम भाडा लिने बसमा आफू सुर्खेत गएको सुनाए । जितेबाट सुर्खेत जाँदा भाडा वृद्धिसहित जोड्दा १ हजार १ सय हुनुपर्ने हो तर व्यवसायीले १ हजार ५ सयसम्म लिने गरेको पाइएको छ।

रास्कोट नगरपालिका–२ का शान्ताकुमारी रोका मगरले सुर्खेत जाँदा १ हजार तिरेको सुनाउँदै फर्किंदा सुर्खेतबाट १ हजार १ सयको टिकट काटेको बताइन् । भाडा फरकबारे काउन्टरका कर्मचारी देविन्द्रबहादुर शाहीले अझै यो भाडा सस्तो भएको सुनाए । उनले समितिले सुर्खेत सम्मको भाडा १ हजार ७ सय तोकेको बताउँदै यात्रुलाई धेरै मार नपारौं भनेर सस्तोमा टिकट काट्ने गरेको दाबी गरे।

पुरानो भाडादर आफूसँग भएको र नयाँ वृद्धि भएको भाडादर आफूसँग नभएकाले डिएसपीसँग कुरा गरेर नयाँ सूची मगाउने ट्राफिक प्रहरीहरूको भनाइ छ। जिते बजारदेखि रास्कोटको सेराचौरसम्म ३३ किलोमिटर सडक छ। यो सडकमा प्रतिव्यक्ति १ हजार रुपैयाँ भाडा नागरिकले तिर्नुपरिरहेको यात्रुको गुनासो छ। रास्कोटदेखि सुर्खेतसम्म १७० किलोमिटर छ। तर भाडादर प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिने गरिएको छ।

जितेदेखि पलाँता जान यात्रीले पनि ९ सय भाडा तिरेर जानुपर्ने बाध्यता रहेको नागरिकको गुनासो छ। जिल्लाबाट ग्रमिण सडकमा यात्रा गर्दा धेरै भाडा लिने गरेका छन्। लालिघाटबाट नरहरिनाथ गाउँपालिका जजाने सडकमा पनि भाडा मनपरी लिने गरेको स्थानीय मीना विष्टले बताइन्। तेलको मूल्य दिनप्रतिदिन बढिरहेकाले यातायात व्यवस्था विभागले पनि भाडादर कायम गर्न नसकेकाले नियमन गर्न समस्या भएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख सिद्घराज न्यौपानेले आधिकारिक सूचना नआएकाले भाडादर वृद्धिको समाचार मात्र सुनेको बताए। तेलको मूल्य बढिरहेकाले भाडा पनि बढाउने काम जारी रहेको हुन सक्ने उनले बताए। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.