चन्द्र भण्डारीकाे स्वास्थ्यमा क्रमिक सुधार, मुखबाट खाना दिन थालियाे

रिपोर्ट नेपाल | 2023 Feb 22 | 08:07 pm 1001

काठमाडाैं, फागुन १०ः नेपाली कांग्रेसका सांसद डा‍. चन्द्र भण्डारीकाे स्वास्थ्यमा सुधार हुँदै गएकाे छ । खाना पकाउने ग्यास चुहिएर दुर्घटना हुँदा घाइते भएका भण्डारीकाे स्वास्थ्यमा क्रमश: सुधार हुँदै गएकाे उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका उनकाे सचिवालयले जनाएकाे छ ।

भारतकाे मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारीलाई आजबाट मुखबाट खाना खुवाइएकाे छ भने प्रेसर मास्क अक्सिजन पाँच लिटरमा झारिएको  छ ।

यही फागुन ३ गते राति काठमाडाैंकाे बुद्धनगरस्थित निवासमा भएकाे दुर्घटनामा सांसद भण्डारीसहित उनकी आमा हरिकला घाइते भएकी थिइन् । घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

नेता डा भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि गत बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत मुम्बई लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

आज बिहान ११ : ४५ बजे सचिवालयले सार्वजनिक गरेकाे प्रेस नाेट  जस्ताकाे त्यस्तै :

माननीय चन्द्र भण्डारीज्यूको स्वास्थ्य अवस्थावारेको पछिल्लो जानकारी ।
अपडेट नं. – १९

मितिः १० फाल्गुन २०७९
समयः ११:४५ बजे
काउन्सिलिङ स्थानः आईबिसियू, ग्राउण्ड तला, नेशनल बर्नस सेन्टर, नबी मम्बई, महाराष्ट्र, भारत
काउन्सिलिङ डाक्टरः डा. प्रशान्त महाराणे

काउन्सिलिङ विवरण
– मुखबाट खाना खुवाइएको छ ।
– प्रेसर मास्क अक्सिजन ५ लिटर झारिएको छ भोलिसम्म रहने र ट्रयालमै रहेको ।
– पारामिटरहरू नर्मल रहेको ।

सबै शुभचिन्तकहरूको लागि डाक्टरको अनुमतिमा मा. चन्द्र भण्डारी सकुशल रहेको र पटक–पटक शुभचिन्तकहरूले विश्वास नगरेका कारण उहाँ सकुशल र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रमाणको रूपमा यो तस्वीर जारी गरिएको छ ।

कम्तीमा २१ दिन सम्म ग्रराफ्टिंगको व्याण्डेजमा रहने र इन्फेक्सन हुने सम्भावना भएकोले त्यसपश्चात मात्र भेटघाट गर्न दिने भएकोले अहिलेलाई भेटधाटको लागि अनुरोध नगर्न अनुरोध ।

अस्पताल परिसर,
एैरोली, नवी मुम्बई, भारतबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.