काठमाडौँ, असार १३। समाजवादी मोर्चामार्फत सहकार्य थालेका माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले राजनीतिक नीति तथा विचारमा सहमति जुटाएर पार्टी एकता गर्ने योजना बनाएका छन् । शान्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै दशकअघि पार्टीबाट अलग्गिएका चन्दलाई फर्काउन माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै अग्रसरता लिइरहेका छन् ।
दसवर्षे सशस्त्र विद्रोह अन्त्य गरेर माओवादी शान्ति प्रक्रियामा आएको ६ वर्ष नबित्दै पुष्पकमल दाहाल र नेत्रविक्रम चन्दले सम्बन्धविच्छेद गरेका थिए । ११ वर्षपछि भने उनीहरूबीच समाजवादी मोर्चामार्फत सहकार्य सुरु भएको हो । माओवादीको नेतृत्वमा गठित समाजवादी मोर्चामा नेकपाको सहभागिता पार्टी एकताका लागि आधार बन्ने नेताहरू बताउँछन् । समाजवादी मोर्चा बनाउने क्रममा शान्तिपूर्ण बाटो अँगाल्ने प्रतिबद्धता गरिएकाले अब माओवादी र नेकपाबीच राजनीतिक मतभेद पनि खासै नहुने उनीहरूको भनाइ छ । मोर्चा घोषणाका क्रममा दाहाल, चन्दलगायत नेताले हस्ताक्षर गरेको प्रतिबद्धतामा ‘जनताको नागरिक र राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्ने’ उल्लेख गरिएको छ ।
द्वन्द्वकालीन मुद्दाका सन्दर्भमा पछिल्लो समय चन्द सधैं दाहालको पक्षमा उभिँदै आएका छन् । माओवादी अध्यक्ष दाहाललगायत नेताविरुद्ध गत फागुनमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि चन्दले ‘द्वन्द्वकालीन मुद्दामा दाहाललाई छोए सह्य नहुने’ अभिव्यक्ति दिएका थिए । मुद्दा दर्तापछि दाहाल र चन्दबीच निकटता बढेको थियो । दाहालले चन्दलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर पनि वार्ता गरेका छन् । दस वर्ष सशस्त्र युद्ध हाँकेको मुख्य नेता दाहाल भएकाले अझै पनि समाजवादी क्रान्ति अघि बढाउने मुख्य जिम्मेवारी उनकै भएको चन्दले बताउने गरेका छन् ।
माओवादी महासचिव देव गुरुङले पूर्वमाओवादी एक ठाउँमा उभिन खोज्नु स्वाभाविक भएको बताए । ‘समाजवादी मोर्चा बनेपछि एकताका लागि ढोका खुलेको छ,’ उनले भने, ‘राजनीतिक विचार तथा नीतिमा छलफल हुँदै छ ।’ राजनीतिक नीतिमा सहमति हुन गाह्रो नहुने उनको भनाइ छ । माओवादीको केन्द्रीय समिति बैठक असार तेस्रो साता बस्दै छ । बैठकमा अध्यक्ष दाहालले नेकपासँग पार्टी एकताका विषयमा प्रस्ताव पेस गर्ने सम्भावना रहेको उनीनिकट एक नेताले बताए । माओवादी सचिव गणेश शाह भने अध्यक्ष दाहालले चन्दसँग एकताका लागि प्रस्ताव राखे सहजै पारित हुने बताउँछन् ।
माओवादीका एक नेताका अनुसार नेकपाले समाजवादी क्रान्तिको मोडेलमा सहमतिसहित संगठनमा कम्तीमा ३० प्रतिशत हिस्सा दाबी गरेको छ । यो दाबीलाई भने माओवादीभित्र अस्वाभाविक रूपमा लिइएको छ । एकता भइहाले चन्द र उनका नेताको पद व्यवस्थापनमा पनि सहज हुने देखिँदैन । ‘एकता भए पार्टीमा चन्दको कुन पद हुन्छ, अहिले भन्न सकिन्न तर अध्यक्षले चन्दका लागि महासचिव प्रस्ताव राख्नुभयो भने तत्काल विरोध हुने सम्भावना कम हुन्छ,’ दाहालनिकट ती नेताले भने, ‘तर त्यसले पार्टीमा झन् असन्तुष्टि मौलाउनेछ ।’
महाधिवेशन भएको आठ महिनापछि गत भदौमा महाधिवेशनको म्यान्डेटअनुसार भन्दै दाहालले नेता गुरुङलाई महासचिव चयन गरेका थिए । महासचिवका मुख्य दाबेदार वर्षमान पुन र जनार्दन शर्मालाई भने उपमहासचिवको जिम्मेवारी दिएका थिए । ‘अध्यक्षले एकअर्काविरुद्ध प्रयोग गर्न विप्लवलाई पद दिनुहुन्छ जस्तो लाग्दैन,’ माओवादी एक पदाधिकारीले भने, ‘त्यसो भयो भने पार्टी एकजुट होइन, झन् विभाजन हुन्छ ।’
माओवादी सचिव दीनानाथ शर्माले माओवादी शक्ति अलग भएर केही गर्न नसकिने अवस्था भएकाले पहिलो चरणमा मोर्चाबन्दी गरिएको र त्यसको उद्देश्य पार्टी एकता नै रहेको बताए । ‘समाजवादी क्रान्तिको तयारीका लागि मोर्चा बनेको हो,’ उनले भने, ‘त्यसैबाट विप्लवजीसँग पार्टी एकताका लागि आधार तयार गर्ने हो ।’
नेकपाका वरिष्ठ नेता सन्तोष बुढामगरले माओवादी शक्ति एक ठाउँमा नआए सकिने खतरा रहेकाले आन्दोलनलाई उचाइमा पुर्याउन समाजवादी मोर्चामा सहभागी भएको बताए । ‘प्रतिगमनकारीहरू सक्रिय भइरहेका बेला माओवादी शक्ति एक ठाउँमा नआए सकिन्छन्,’ उनले भने, ‘अबको आन्दोलन समाजवाद नै हो भन्न सक्नुपर्छ ।’ समाजवादी मोर्चामा नेकपाको सहभागिता संसदीय व्यवस्थामा घुमिरहनका लागि भने नभएको बुढामगरले बताए । ‘समाजवादी क्रान्ति हाम्रो साझा मुद्दा हो । छलफल गर्दै जाँदा हाम्रो दूरी घट्छ,’ उनले थपे । नेकपाका अर्का नेता असल क्षत्री भने पार्टी समाजवादी मोर्चासम्म मात्र अघि बढेको बताउँछन् । ‘हामीले पार्टी एकताबारे सोचेका छैनौं,’ उनले भने ।
माओवादीमा दोस्रो तहका नेताहरू खासगरी उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माबीचको अन्तरविरोधका कारण पार्टीले गति लिन नसकेको कतिपयको विश्लेषण छ । हालसम्म सत्तामा नपुगेका नेता चन्दको छविले माओवादीलाई गति दिन मद्दत गर्न सक्ने दाहालनिकट नेताको बुझाइ छ । दाहाल आफैं पनि माओवादीसँग अब नयाँ राजनीतिक मुद्दा बाँकी नरहेकाले चन्दको पार्टी नेकपासँग एकता गर्न सके नयाँ उत्साह ल्याउन सकिने बुझाइमा छन् । हरेक निर्वाचनमा जनमत घटिरहेका बेला पूर्वमाओवादी एक ठाउँमा उभ्याउँदा कार्यकर्तामा ऊर्जा दिने विश्वास उनले लिएका छन् ।
माओवादी उपमहासचिव पम्फा भुसालले समाजवादी मोर्चाले छरिएर रहेका कम्युनिस्टलाई नजिक ल्याउने बताइन् । ‘एउटै कम्युनिस्ट पार्टी बन्नुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भनिन्, ‘पार्टी एकता हुन नसकेको अवस्थामा मोर्चा बनाएर सहकार्य हुन्छ ।’ एउटै माओवादीमा रहँदा भुसाल र चन्द मोहन वैद्य समूहमा थिए ।
चन्दसँग सहमति जुटे विशेष महाधिवेशन गरेर एकता हुन सक्ने माओवादीका एक पदाधिकारी बताउँछन् । तर चन्दसँग एकता भए माओवादीमा अर्को गुट थपिने निश्चित छ । हाल माओवादीमा पूर्वएकता केन्द्र मसाल (वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ), वर्षमान पुन, जनार्दन शर्मा, क्रान्तिकारी माओवादीबाट आएको समूह (पम्फा भुसाल, कुलप्रसाद केसी), पूर्व सभामुख कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटाको आआफ्नो समूह छ । उपमहासचिव पुन, शर्मा र बस्नेतका समकालीन नेता चन्द पार्टी अध्यक्ष दाहालनिकट हुन थालेपछि नै माओवादीभित्र तरंग सिर्जना भएको छ । शर्मा र चीनमा चार महिना स्वास्थ्य उपचार गराएर फर्केका पुनबीच पछिल्लो समय मिलेर अघि बढ्न वार्ता चलिरहेको नेताहरूले जनाएका छन् ।
चन्दका पूर्वसहयात्री हेमन्तप्रकाश वली भने क्रान्तिकारी आवरणमा माओवादीसँग एकता गरी पद प्रतिष्ठा लिने रणनीतिमा चन्द लागेको बताउँछन् । ‘विप्लवजीले सबै समाजवादी संसद्मा पुगे भने वैज्ञानिक समाजवाद आउँछ भनेर प्रतिवेदन नै लेख्नुभएको छ,’ उनले भने, ‘गएको स्थानीय चुनावमा भाग लिनुभयो । अहिले माओवादीलगायत संसदीय पार्टीसँग मोर्चाबन्दी गर्नुभएको छ । अब माओवादीसँग मिसिने निश्चित छ ।’ नेकपाका नेता बुढामगर भने चन्द आफैं महासचिव भएकाले पदप्रतिष्ठाको कुनै लोभ नभएको दाबी गर्छन् । ‘विप्लवजीलाई २०६४ सालदेखि नै पटकपटक मन्त्री, सांसद हुन, अरू पद लिन आग्रह हुँदै आएको छ,’ उनले भने, ‘हामी घुमिफिरी माओवादी केन्द्रमा आएका होइनौं । बरु हामीले समाजवादी क्रान्तिको उडान भर्न चक्कर लगाएका हौं ।’
बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीले एकताका लागि माओवादीलाई पठाएको लिखित प्रस्ताव भने अलपत्र परेको छ । जेठ अन्तिम साता बसेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पार्टी एकताका लागि लिखित प्रस्ताव पठाइए पनि जवाफ नआएको नेसपा नेता गंगानारायण श्रेष्ठले जानकारी दिए । ‘हामीले पार्टी एकताका लागि प्याकेजमै प्रस्ताव पठाएका छौं,’ उनले भने, ‘माओवादीको केन्द्रीय समितिको बैठकपछि जवाफ आउला ।’ उनले ‘विचार, राजनीति, अर्थनीति, समाज, नेतृत्व’ सहित एकता प्रस्ताव माओवादीमा पठाइएको जानकारी दिए ।
आम निर्वाचनअघि माओवादी अध्यक्ष दाहाल र नेसपा अध्यक्ष भट्टराईले पार्टी एकता गर्ने सहमति गरेका थिए । त्यही सहमतिअनुसार भट्टराई उठ्दै आएको गोरखा–२ मा दाहाल उम्मेदवार भएका थिए । भट्टराई भने चुनावी प्रतिस्पर्धामा उत्रिएनन् । चुनाव जितेपछि दाहालले पार्टी एकताका लागि चासो नदिएको गुनासो नेसपाका नेताको भनाइ छ । चुनावअघि दाहालले भट्टराईलाई पार्टीमा वैचारिक नेतृत्व दिन सकिने वचन पनि दिएका थिए । कार्यकारी भूमिकामा आफू भए पनि पार्टीको नीति, निर्माण र योजनामा भट्टराईको साथ लिने दाहालको भनाइ थियो । समाजवादी मोर्चामा समेत नेसपालाई नसमेटेपछि भट्टराई झस्किएका छन् ।
दाहाल–चन्द मोर्चाबन्दीको अन्तर्य
२०६४ को संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादी चिराचिरा बन्दै जनमत पनि गुमाइरहेका बेला पुराना दुई सहयात्रीबीच सहकार्य सुरु भएको हो । माओवादीले सरकारसँग २०६३ मंसिर ५ मा गरेको विस्तृत सम्झौतालाई लिएर असन्तुष्टि राख्दै अन्ततः पार्टी नै छाडेका चन्दसँग माओवादी अध्यक्ष दाहालको सहकार्यसम्मको सम्बन्ध कसरी विकास भयो त ?
माओवादी नेताहरूका अनुसार पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले चन्दलाई मोर्चामा ल्याउन लामो समयदेखि कसरत गर्दै आएका थिए । महरा रोल्पामा शिक्षक छँदा चन्द विद्यार्थी थिए । माओवादीमा नरहेको अवस्थामा समेत चन्द महरालाई विश्वास गर्थे ।
माओवादी अध्यक्ष दाहाललगायतका नेताविरुद्ध गत फागुनमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि चर्को प्रतिवाद चन्दले नै गरेका थिए । द्वन्द्वकालीन मुद्दा ब्युँताउन कोसिस गरिएको भन्दै माओवादी र पूर्वमाओवादी नेताहरू पनि एक ठाउँमा उभिए । शान्ति प्रक्रियाका बाँकी काम पूरा नभइरहेका बेला उनीहरूले सकेसम्म एक ठाउँमा उभिन खोजेका छन्, कम्तीमा मोर्चाकै रूपमा भए पनि । अदालतका दर्ता मुद्दाका कारण हिमचिम बढिरहेका बेला महरा र चन्दबीच चरणबद्ध वार्ता भएको थियो र त्यसैको परिणामस्वरूप मोर्चामा सहकार्य सुरु भएको हो ।
समाजवादी मोर्चा घोषणा कार्यक्रममा दाहालले चन्दलाई मोर्चामा सहभागी गराउनुमा भने ठूलो राजनीतिक महत्त्व भएको बताएका थिए । ‘विप्लव (चन्द) ले नेतृत्व गरेको नेकपा पनि यो मोर्चामा सामेल भएको छ । यसको गुणात्मक र क्रान्तिकारी महत्त्व छ,’ उनको भनाइ थियो, ‘हामी संसदीय राजनीतिमा भेला हुँदा धूलो जम्मा भएको छ । विप्लव आउँदा संसदीय राजनीतिमा लागेपछि हामीमा लागेको धूलोमैलो सफा गर्न मद्दत पुग्नेछ ।’
चन्द नेतृत्वको नेकपा पनि पछिल्लो समय टुटफुटमा गुज्रँदै आएको थियो । चन्दको कार्यशैली ‘व्यक्तिवादी’ भएको भन्दै हेमन्तप्रकाश वली, धर्मेन्द्र बाँस्तोला २०७८ वैशाखमा अलग भएका थिए । नेकपा बहुमत पार्टी गठन गरेको वली समूहले हालै वैद्यसँग पार्टी एकता गरी ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ गठन गरेका छन् ।
माओवादीबाट २०६९ असारमा अलग भएपछि चन्दलगायतका नेताहरूले मोहन वैद्यको नेतृत्वमा जनविद्रोह गर्ने रणनीति लिएका थिए । जनविद्रोह हुन नसकेको निष्कर्षसाथ चन्द वैद्यबाट २०७१ मंसिरमा अलग भए र केही समयपछि हिंसात्मक गतिविधिसमेत गरे । सरकारले २०७५ फागुन २८ बाट चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगायो । त्यसपछि चन्दलगायत नेताहरू भूमिगत भएका थिए । चन्द समूहको हिंसात्मक गतिविधिबाट प्रहरी, शिक्षक, सर्वसाधारणलगायत ६ जनाले ज्यान गुमाएका थिए । चन्द समूहका १२ कार्यकर्ताको मृत्यु भएको थियो । चन्द समूहले १ सय ९ ठाउँमा बम विस्फोट र २ सय ५७ स्थानमा आगजनी गराएको थियो ।
तत्कालीन केपी शर्मा ओली सरकार र नेकपाबीच २०७७ फागुन २१ मा तीनबुँदे सहमति भएपछि पार्टीको गतिविधिमा लगाइएको प्रतिबन्ध हटेको थियो । त्यसपछि नेकपा शान्तिपूर्ण राजनीतिमा सहभागी भएको थियो । त्यति बेलाको सहमतिमा उल्लेख छ, ‘नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल सरकार नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ ।’
तीनबुँदे सहमतिअघि करिब २ हजार १ सय नेता–कार्यकर्ता पक्राउ परेकामा १ सय ४० जना पुर्पक्षका क्रममा जेल चलान भएका थिए । तीमध्ये अधिकांश धरौटी र तारिखमा छुटिसकेका छन् भने ३५ जना अझै जेलमा छन् । समाजवादी मोर्चाको प्रतिबद्धतामा समेत नेताहरूलाई लगाइएका मुद्दा खारेजी र जेलमा रहेका बन्दी रिहाइका लागि पहल गर्ने उल्लेख छ ।
रोल्पाको परिवर्तन गाउँपालिका केउरीमा जन्मिएका चन्दको हाल स्थायी ठेगाना कपिलवस्तु शिवनगर हो । त्यहीं उनले सामूहिक खेती सुरु गरेका छन् भने एक सामुदायिक अस्पताल चलाएका छन् । पार्टी केन्द्रीय कार्यालय पनि शिवनगरमै निर्माण गरेका छन् । उनी आफूभन्दा कनिष्ठ नेताका लागि सहज र सरल रूपमा प्रस्तुत हुन्छन् । कार्यकर्तालाई जुरुक्क उचाल्न सक्ने क्षमता भएका उनी आफ्ना प्रतिस्पर्धी नेताप्रति भने अनुदार भएको आरोप लाग्ने गरेको छ । कार्यकर्तालाई संघर्षमा होमेर आफ्नो छोरालाई डाक्टर पढाएको आरोप पार्टीभित्र छ । उनका छोरा प्रकाशले चितवनको एक निजी कलेजबाट एमबीबीएस गरेका छन् ।(कान्तिपुरबाट)