चट्याङ लागेर २ जनाको मृत्यु, ११ घाइते

रिपोर्ट नेपाल | 2020 Apr 02 | 08:27 am 1845

काठमाडाैं, चैत २०ः बुधबार छुट्टाछुट्टै जिल्लाहरू धादिङ र रुकुम पश्चिममा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् भने तीन जना घइते छन् ।

उनी घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

उक्त चट्याङमा परेर खनियाबास गाउँपालिका–२ थलीका पार्वती तामाङ र मनकुमारी तामाङ घाइते भएकी छन् । थलीमा परेको चट्याङले दुई घरमा क्षति पुगेको छ । चट्याङका कारण गाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानाकारी दिए ।

दिउँसोको समयमा परेको चट्याङका कारण सोही गाउँपालिका–२ क्यूङ निवासी आसमाया तामाङ घाइते भएकी छन् । घाइते भएका सबैकाे स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

त्यसैगरी रुकुमपश्चिममा पनि चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ मा मामाघरमा बस्दै आएकी गङ्गादेव गाउँपालिका रोल्पाकी १३ वर्षीया निर्मला खत्री रहेकी छन् ।

चट्याङ लागेर अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ठगबहादुर केसीले बताए । उनका अनुसार बेलुकी साढे ६ बजेतिर स्थानीय गङ्गाराम खड्का र प्रकाश विकको घरमा चट्याङ परेको थियो ।

चट्याङ लागेर घाइते भएका मध्ये २० वर्षीया अनिता विक भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.