बारा, असार १८ः जिल्लाका विभिन्न स्थानमा पानीसँगै परेको चट्याङ लागेर बिहीबार बिहान चार महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ शितलपुरकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन, फेटा गाउँपालिका वडा नम्बर १ की ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतीदेवी महतो रहेका छन् । उनीहरु चारैजनाको घटनास्थलमै मृत्यु भएको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार चट्याङ लागरे अन्य ७ जना घाइते भएका छन् ।
बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकामा खेतमा धान रोपिरहेका महिलाहरुको चट्याङ लागेर मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए ।
चटयाङ लागेर घाइते भएका सातै जना फेटा गाउँपालिकाका रहेका छन् । घाईते हुनेहरुमा ५५ वर्षकी बच्चादेवी हजाम, ६० वर्षकी राजपति देवी, ३५ वर्षकी श्रीकान्तीदेवी, ६० वर्षकी उमादेवी ठाकुर, २५ वर्षकी लिलावती देवी, ३५ वर्षकी सिसितादेवी र ६० वर्षकी सिलादेवी धोवी रहेका छन् ।
घाईतेहरुमध्ये हजामको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने मृतकको शव पोष्टमार्टमका लागि कलैया अस्पताल लगिएको छ ।
विहानैबाट मौसममा आएको परिवर्तनका कारण चट्याङ पर्ने सम्भावना अझै रहेकाले सर्तक रहन जिल्ला प्रशासन कार्यालय बाराले आग्रह गरेको छ ।