सङ्खुवासभा, चैत ३०ः गएराति जिल्लाको पाँचखपनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखपन नगरपालिका–२ की ५२ वर्षीया डम्बर कुमारी राई रहेकी छन् ।
चट्याङ लागेर उनीको घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मिम लामाले जानकारी दिए।
राईलाई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । राईको शवपरीक्षणका लागि आइतबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको पाँचखपनका नगरप्रमुख विपीन राईले बताए ।
साथै, उक्त जिल्लाको खाँदबारी नगरपालिका–११ मा राँगोले हानेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खाँदबारी–११ आङ्लाका ६४ वर्षीय तुलाराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नै खेत आङ्लामा रहेको गोठमा राँगो बाध्नेक्रममा उनीमाथि राँगोले आक्रमण गरेको थियो ।
गुरुङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको शवपरीक्षणका लागि शनिबार नै जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।