मकवानपुर, भदौ २१: जिल्लाका छुट्टाछुट्टै स्थानमा बिहिबार परेको पानी र हावाहुरीसँगै चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएको समाचार प्राप्त भएको छ।
दिउँसो एक्कासी पानी परेपछि लागेको चट्याङ्गबाट हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका ११ वर्षीय बालक रोजन लामाको मृत्यु भएको हो । उनी आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए । उपचारका क्रममा चुरेहिल अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी चट्याङ लागेर बकैया गाउँपालिका–११ का ३७ वर्षीय कृष्णलाल स्याङ्तान र हेटौँडा उपमहानगरपालिका–७ की ४० वर्षीया सावित्री लुइँटेल घाइते भएका छन् ।
लुइँटेललाई खाना पकाउन लाग्दा चट्याङ लागेको थियो । स्याङ्तान र लुइँटेलको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको हेटौँडा अस्पतालले जनाएको छ ।