काठमाडौं, चैत ११: नेपाली सेनाद्वारा प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु सहित मनाउने गरिएको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’हाल विश्वमा फैलिरहेको कोरोना भाईरसको जोखिमलाई मध्येनजर गरी यस वर्षको सो समारोह स्थगित गरिएको छ ।
नेपाली सेनाले परम्परालाई कायम राख्ने उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने योजना गरिएतापनि यस वर्षको घोडेजात्रा समारोह कोरोना भाईरस संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरी नेपाल सरकारद्वारा २०७६ चैत्र १० गते सो को रोकथाम र निर्मुल गर्न लिइएको निर्णय बमोजिम सो समारोह स्थगित गरिएको छ ।
साथै सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेबी भण्डारीले पठाएका शुभकामना सन्देश लगायत घोडेजात्राको प्रारम्भिक अभ्यासको दौरान छायाँकन गरिएको गतिविधी समेटी तयार गरिएको कार्यक्रम नेपाल टेलिभिजनबाट ३ बजेको समाचार पछि प्रशारण गर्न मिलाईएको व्यहोरा समेत जानकारी गराईन्छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा समेत फैलिन सक्ने परिस्थितिलाई दृष्टिगत गरी उक्त भाईरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारबाट हरसम्भव प्रयासहरु भई रहेको परिप्रेक्षमा सम्भावित प्रतिकूल परिस्थितिमा संक्रमण नियन्त्रण तथा बिरामीको उपचारको लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न समेत नेपाली सेना प्रतिवद्ध रहेको छ ।