काठमाडौँ, जेठ २८: राजनीतिकर्मी, साहित्यकार तथा कलाकार भद्रकुमारी घलेको अंग्रेजीमा अनूदित कृति ‘आर्ट एण्ड लाइफ’(कला र जीवन) मा समेटिएको कलाबारे सोमबार समीक्षा गरिएको छ ।
अरुपण आर्ट ग्यालरी र नेपाल कला परिषद्ले आयोजना गरेको कार्यक्रममा वरिष्ठ कलाकार शंकरनाथ रिमालले कलाकार घलेले राजनीति र समाजसुधारका साथै कला क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको बताए।
कला समीक्षक मुकेश मल्लले कलाकार घलेले बत्तीको ध्वाँसोलाई प्रयोग गरी सिर्जना गरेका कला नौलो भएको र यस्तै सिर्जना गर्नु कठिन हुने बताए । कला क्षेत्रमा योगदान पुर्याउने त्यस्ता स्रष्टा सम्मानयोग्य भएको उनले बताए ।
कला समीक्षक केशवराज खनालले पुराना कलाकार घलेले अत्यन्त दुःख र पीडाको अवस्थामा पनि टुकीको कालो जम्मा गरी अमूल्य कला सिर्जना गरेको तथा आफ्नो सिर्जनामा नारीका कथा तथा भोगाइ तथा विसंगतिका विरुद्ध आफ्ना भावना व्यक्त गरे।
अरुपण आर्ट ग्यालरीका निर्देशक तथा कलाकार रमेश खनालले कलाकार घलेको कलामा योगदानबारे विवरण प्रस्तुत गर्दै घले मौलिक नेपाली माध्यम (रङ) प्रयोग गरी कला सिर्जना गर्ने एक मात्र कलाकार भएको बताए । उनले घलेले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सुझावका आधारमा कलामाथि गद्य र पद्य समेटिएको रचना अंग्रेजीमा अनुवाद गरी प्रकाशनमा ल्याउनु भएको पनि उल्लेख गरे।
कलाकार खनालले घलेको सो पुस्तकलाई महिलाको सुख, दुःख, आधुनिकताको प्रभाव, जनावर र पक्षी, प्रकृति प्रेम, राजनीति तथा साहित्यका महान् व्यक्तित्वको चित्र गरी विभिन्न भागमा विभाजित गर्न सकिने बताए । तीन सय अन्ठानब्बे पृष्ठ तथा तीन किलो तौल भएको सो पुस्तकमा घलेका १९१ चित्र समेटिएको छ । पुस्तकको अंग्रेजी अनुवाद पत्रकार तीर्थ भट्टराईले गरेका हुन् । कार्यक्रममा कला समीक्षक ज्ञानेन्द्र विवशले लेख्नुभएको घलेको सपना, समाजसेवा, साहित्य र कलासाधना समीक्षा पनि प्रस्तुत गरिएको थियो ।