घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

| 2024 Sep 21 | 12:37 pm 397

काठमाडौँ, आश्विन ०५ / भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको सरकारी प्रतिनिधि सहित यातायात व्यवसायीको बैठकले तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग अन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको छ ।

बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न र बीपी राजमार्गका सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका मात्र सवारिसाधन चलाउन सडक विभागलाई निर्देशन दिने निर्णय गरेको छ।

रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न गृह मन्त्रालय, नेपाल प्रहरीलाई अनुरोध गर्ने, यात्रुको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।

यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थलसम्म जाने गरी व्यवस्थित गर्ने, वैज्ञानिक भाडा समायोजन एक वर्षदेखि तथा इन्धनको मूल्यबाहेक अन्य कारणले गर्नुपर्ने भाडा समायोजन छठपछि गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.