गौतम बुद्धको जन्मस्थलबाट नेपालको सन्देश

रिपोर्ट नेपाल | 2024 Jan 20 | 09:19 am 485

काठमाडौँ, माघ ६। नेपालले विश्व शान्तिका लागि अपिल गरेको छ । युगाण्डामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले विश्व शान्तिका लागि अपिल गर्नुभएको हो । उहाँले आफू गौतम बुद्धको जन्मस्थलबाट शान्तिको सन्देश लिएर आएको विश्व समुदायलाई बताउनुभयो । ‘साझा समृद्धिका लागि शान्ति अति आवश्यक भएको समयमा यो सम्मेलन सफलताका लागि मैले गौतम बुद्धको जन्मस्थलबाट शान्तिको सन्देश लिएर आएको छु,’ उहाँले भन्नुभयो, ‘नेपाल शान्तिका प्रतीक गौतम बुद्धले दीक्षित गरेको शान्तिपूर्ण सहअस्तित्वको शाश्वत सत्यमा विश्वास गर्दछ । विविधतामा एकता र वसुधैव कुटुम्बकम् अर्थात् ‘विश्व एउटै परिवार’ हाम्रो जीवन पद्धति बनेको छ,’ उहाँले भन्नुभयो, ‘यी मूल्यमान्यताहरू हाम्रा सामाजिक-सांस्कृतिक परम्परामा परापूर्वकालदेखि नै स्थापित हुँदै आएका छन् । नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू-राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्दछ ।’

नेपालले स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको उहाँले बताउनुभयो । ‘हाम्रो परराष्ट्र नीति सार्वभौम समानता, आपसी सम्मान, आपसी हित र विवादको शान्तिपूर्ण समाधानमा आधारित छ,’ उहाँले भन्नुभयो, ‘असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो,’ उहाँले भन्नुभयो । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का बहुसंख्यक प्रतिनिधिहरू विदेशमन्त्री छन् । नेपालको प्रतिनिधित्व भने प्रधानमन्त्री ‘प्रचण्ड’ को नेतृत्वमा भएको छ । आजसम्म चल्ने सम्मेलनमा १२० देश सहभागी छन् । पर्यवेक्षकको रूपमा रुस तथा ब्राजिल लगायतका १८ देश छन् । पर्यवेक्षक संस्थाको रूपमा संयुक्त राष्ट्रसंघसहित १० विश्वका विभिन्न संस्थाको सहभागिता छ ।

संक्रमणकालीन न्यायलाई सदाका लागि समाधान गर्ने प्रतिबद्धता
नेपाल संक्रमणकालीन न्यायलाई एकपटक र सदाका लागि समाधान गरेर दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । ‘शान्ति सम्भव छ, दृढ विश्वास र इच्छा शक्तिले राष्ट्र र विश्वव्यापी रूपमा रहेका ऐतिहासिक, सामाजिक-सांस्कृतिक र आर्थिक अन्यायलाई सम्बोधन गर्न सकिन्छ,’ उहाँले भन्नुभयो । अल्पविकसित देश नेपालले आफ्नो विकास प्रयासहरूमा धेरै चुनौतीहरूको सामना गरिरहेको उहाँले बताउनुभयो । सम्मेलनमा उहाँले जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे पनि कुरा उठाउनुभयो । ‘हामीले जलवायु परिवर्तनको विनाशकारी प्रभावको कारण डरलाग्दो दरमा घट्दै गएको हिमनदीहरूका स्वरूप र यसले अर्बौंको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडा देखेका छौँ,’ उहाँले भन्नुभयो, ‘हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु हाम्रो साझा हितमा छ । यसका लागि म ‘नाम’ का साथीहरूलाई हाम्रो आह्वानलाई समर्थन गर्न आह्वान गर्दछु ।’

युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी
युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी भएको उहाँले बताउनुभयो । ‘मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसंघको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति-सुरक्षाका लागि उभिन चाहन्छ,’ उहाँले भन्नुभयो । आन्दोलनले विश्वका धेरै देशहरूको राजनीतिक स्वतन्त्रता, उपनिवेशीकरण र सार्वभौमसत्ता प्राप्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।

आजको संसार अन्याय, असमानता, विभाजन, विभेद र बहिष्कारले भरिएको उहाँको भनाइ थियो । ‘संरक्षणवाद, हिंसात्मक अतिवाद, युद्ध र द्वन्द्वले भरिएको छ । विश्वमा सैन्य खर्च र हतियारको दौड बढिरहेको छ,’ उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय व्यापार न्यायोचित, निष्पक्ष र समावेशी हुनुपर्छ, जसले तल्लो तहका अर्बौं जनतालाई फाइदा पुग्छ ।’ वर्तमान विश्वमा ‘गेम चेन्जर’का रूपमा देखापरेको ‘विज्ञान, प्रविधि र नवप्रवर्तन’ मा विकासशील र अल्पविकसित देशहरूले सामना गरिरहेका संस्थागत र क्षमताका बाधाहरूलाई सम्बोधन गर्न ‘नाम’ले उच्च प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।

‘हाम्रा बहुपक्षीय संस्थाहरू समावेशी, पारदर्शी र लोकतान्त्रिक हुनुपर्छ, जसले दिगो शान्ति र साझा समृद्धि सुनिश्चित गर्न सहयोग गर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले झेल्नुपरेका साझा र समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्न ‘नाम’ले नेतृत्व लिनुपर्छ । नयाँ र पुराना द्वन्द्वका नतिजाले सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ,’ उहाँले भन्नुभयो, ‘सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो ।’

संयुक्त राष्ट्रसंघपछिको सबैभन्दा प्रतिनिधि संस्थाको रूपमा आन्दोलनले सुरक्षा, स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण, समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । नामले शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको उहाँको भनाइ थियो ।

विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युगाण्डाको राजधानी कम्पालामा रहेका नेपालीहरूसँग भेटवार्ता गर्नुभएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ सम्मेलनमा भाग लिन युगाण्डा पुग्नुभएका उहाँले शुक्रबार बिहान त्यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्नुभएको हो । ‘युगाण्डामा मेरो पहिलो भ्रमण हो । तपाईंहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ । यहाँ तपाईंहरूले केही कुरा उठाउनुभयो । ती महत्वपूर्ण छन् । हिजो मात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरेको छु । केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूत बोलाएर कुरा गरेको छु,’ उहाँले भन्नुभयो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने बताउनुभयो । ‘विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन । अहिले उहाँहरूका दुःखकष्ट बुझ्ने अवसर पनि पाएँ,’ उहाँले भन्नुभयो । कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको बिम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपिल गर्नुभयो ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.