गौतमबुद्धमा जजिराको दैनिक उडान

रिपोर्ट नेपाल | 2022 Sep 17 | 07:03 am 1857

भैरहवा, असाेज १: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एअरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु गरेको छ। शुक्रबार बिहान ६ः४५ बजे १ सय ६८ यात्रुलाई लिएर जजिराले विमानस्थलबाट नियमित उडान सुरु गरेको हो।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने यो एक मात्र एअरवेज कम्पनी हो। ‘शुक्रबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेका छौँ’, जजिरा एअरवेज नेपालको अपरेसन प्रमुख संगीता रौनियारले अन्नपूर्णसगँ भनिन्, ‘राम्रो प्रतिक्रिया आए भविष्यमा विमान थप गरेर पनि सेवा दिने छौँ।’

जजिराले कुवेतका लागि उडान भर्ने गरे पनि यात्रुहरूले ट्रान्जिट गरेर अन्य मुलुकमा पनि विमानस्थलबाट जाने गरेका छन्। विमानस्थलबाट सिधा कुवेत र ट्रान्जिट गरेर दोहा, दुबई र साउदी अरेबियामा बढी यात्रुहरू जाने गरेको अपरेसन प्रमुख रौनियारले बताइन्।

हालसम्म एयरलाइन्सले कुबेत–भैरहवाबीच हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीनवटा उडान भर्दै आएको थियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एअरवेजले कुबेत–भैरहवाबीच नियमित रूपमा दैनिक एउटा उडान सञ्चालन गरेको बताए।

कुबेतबाट–भैरहवा विमानस्थलमा कुल ६ हजार ५ सय ८७ जना हवाईयात्रु आएका छन्। भैरहवाबाट कुबेतका लागि कुल ७ हजार २ सय ४० जना गएका छन्। जजिरा एयरलाइन्सको ‘एयर बस ३२० नीओ’ विमानले हवाई उडान भर्दै आएको छ। यो विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्दा विभिन्न छुट र सहुलियत दिएका कारण जजिरा एअरवेजबाट काठमाडौं–कुबेतभन्दा भैरहवाबाट भाडा दर धेरै सस्तो छ।

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र पूर्वमा वीरगन्जसम्मका यात्रुले कुबेतको हवाई यात्रा भैरहवाबाट गर्ने गरेका छन्। हंगेरीको वायुसेवा कम्पनी विज एयरले पनि अक्टोबर ३० देखि दुबईको अवुधाबी–भैरहवा हवाई उडान सञ्चालन गर्ने तयारी गरेको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.