गौतमको राष्ट्रियसभा सदस्यमा सिफारिस अन्योल

रिपोर्ट नेपाल | 2020 Feb 27 | 08:04 am 1497

काठमाडौं, फागुन १५: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेको केही समय नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई अस्वीकार गर्ने संकेत गरेका छन् । बुधबार दिउँसो बसेको सचिवालय बैठकले गौतमलाई सिफारिस गरे पनि साँझ प्रधानमन्त्री ओलीले सरकारबाट गौतमलाई सिफारिस गर्न नसकिने बताएका हुन् ।

राष्ट्रियसभा सदस्यमा राष्ट्रिपतिले मनोनीत गरेका डा युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिने भएकाले त्यस ठाउँमा गौतमलाई सिफारिस गर्ने गरी पार्टी निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको उनले जानकारी दिए । गौतम गत प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए ।

यसअघि गत माघमा भएको राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूले गौतमलाई आग्रह गरेका थिए तर उनले प्रधानमन्त्री बन्न नपाइने राष्ट्रियसभामा आफू नजाने बताएका थिए । त्यसपछि पार्टीमा संविधान संशोधनको विषयसमेत प्रवेश पाएको थियो । यहीबीच केही दिनअघि नेकपाले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदल पनि बुधबारको बैठकले नै खारेज गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नौ जना नेता उपस्थित भएपछि उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने एजेन्डामाथि छलफल भएको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपालले गौतमलाई राष्ट्रियसभामा लैजान संविधान संशोधन सर्त राख्न नपाउने बताएको नेकपा स्रोतले जनाएको छ । स्रोतका अनुसार वरिष्ठ नेता झलनाथ खनाललगायत नेताले पनि गौतमलाई राष्ट्रियसभामा लैजानुपर्ने सहमति जनाए ।

त्यसपछि गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने निर्णय भइसकेकाले आफू तयार भएको बताएका थिए । त्यसलगत्तै उनले संविधान संशोधनको विषय भने आफूले नत्याग्ने बताएको स्रोतले बतायो । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.