गोलाप्रथाबाट भोलि राष्ट्रियसभा सांसदको कार्यकाल तय गरिँदै

| 2018 Jun 17 | 05:54 pm 2431

काठमाडौं, असार ३ : गोलाप्रथाबाट राष्ट्रियसभाका ५९ जना सांसदको कार्यकाल सोमबार तय गरिने भएको छ । गोलाप्रथाबाट १९ जनाको दुई वर्ष, २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष पदावधि निर्धारण गर्न लागिएको हो ।

राष्ट्रियसभामा सदस्यको पूर्ण कार्यकाल छ वर्षको हुने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा स्थायी सदन भएकोले पदावधि सकिने सदस्यको स्थानमा पुन: निर्वाचन भई सदस्य थपिँदै जानेछन् ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडाको भाग्य पनि गोलाप्रथापले निर्धारण गर्नेछ ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले प्रतिनिधित्व गरेका ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत तीन सदस्य छन् ।

प्रदेशबाट प्रतिनिधित्व गरेका आठमध्ये खुला तीन, महिला तीन, दलित एक र पिछडिएका वा अपाङ्गता भएका मध्येवाट एक जनाको प्रतिनिधित्व छन् ।राष्ट्रियसभा नियमावली अनुसार राष्ट्रियसभामा प्रतिनिधित्व हुने सबै क्लस्टरको समान प्रतिनिधित्व कायम हुने गरी गोलाप्रथा हुनेछ । क्लस्टरअनुसार नै चरणबद्ध रूपमा गोला हुनेछ । राष्ट्रियसभाले गोलाप्रथाको प्रक्रियाको जानकारी दिन आइतबार पत्रकार सम्मेलन गरेको थियो ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले गोलाप्रथा गर्दा क्लस्टरमा रहेका सदस्यको वर्णानुक्रमअनुसार गोला तान्ने व्यवस्था गरेको जानकारी दिए । ‘यो निर्वाचनको एउटा अंग हो । पारदर्शी रुपमा गोलाप्रथा हुनेछ,’ उनले भने, ‘गोलाप्रथालाई त्रुटिरहित बनाउने लागि परेका छौं ।’

गोला तान्न सदस्य आफैं उपस्थित नभएपनि उसले जिम्मेवारी दिएको व्यक्ति उपस्थित हुन सक्ने छन् । त्यस्ता व्यक्ति पनि नभएमा संसद् सचिवालयले सचिवालयकै कर्मचारी मार्फत गोला तानेर कार्यकाल यकिन हुने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.