गोप्य तालिका बनाउँदै एक्सनमा उत्रिए बालेन्द्र

| 2022 Aug 25 | 07:41 am 1249

काठमाडौं, भदाै ९ः काठमाडौं महानरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ । पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरु गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पब हाउसमा गरेको हो ।

कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली बिहानै सुन्धारास्थित काठामाडौं मल पुगेको थियो । मेयर साहले गोप्य तालिका तयार गरी अवैध संरचना भत्काउन थाल्नुभएको छ । ३५ दिनअघि दिएको सूचनालाई बेवास्ता गरी बेसमेन्टमा व्यवसाय सञ्चालन गरेपछि महानगरले काठमाडौं मलको दुईतले बेसमेन्ट भत्काएको हो । महानगरले डोजर, क्रेनसहित सामग्री लिएर संचरना भत्काउन पुगेका थियो ।

कामपा प्रमुख साहले सूचनालाई अटेर गरी मनपरी रूपमा संरचना निर्माण गरेपछि भत्काउन अभियान शुरु गरेको बताए । ‘डबल पार्किङ स्पेसलाई व्यवसाय सञ्चालन गरे पनि भत्काएका हौं ।’ –कामपा प्रहरी प्रमुख पाण्डेले भने । काठमाडौं मलको संरचना भत्काएपछि सो टोली खिचापोखरीस्थित आरबी कम्प्लेक्स पुगेको थियो ।

आरबी कम्प्लेक्स व्यवस्थापनले पार्किङस्थलमा करिब डेढ दर्जन बढी पसल सञ्चालन गर्न दिएको थियो । ‘हामीले सबै हटरा हटाइदिएका छाैं ।’ –उनले भने । सुन्धारा र न्युरोड क्षेत्रका सपिङ मल भत्काउन वडाध्यक्ष चीनकाजी श्रेष्ठसमेत सहभागी भएका थिए । वडाध्यक्ष श्रेष्ठले मापदण्डको उल्लंघन गरी मनोमानी रूपमा संरचना बनाएपछि भत्काइएको जानकारी दिए । सटर भत्काउँदा व्यापारीले हारगुहार गरेका थिए ।

अधिकांश व्यापारीले दशैंसम्म नभत्काउन गरेको आग्रह महानगरले सुनेको नसुनेझै गरी एकाएक भत्काउन शुरु गरेको थियो । महानगरले न्युरोडस्थित नबिल बैंक रहेको भवनको भूमिगत तलामा रहेको संरचना हटाउन निर्देशन दिएको थियो । उता, संरचना भत्काउने सूचना पाएलगत्तै प्रहरीले पसलबाट सामान हटाउन सहजीकरण गरेको थियो । टोलीले दिउँसो दरबारमार्ग पुगेर मापदण्डविपरीत बनेका संरचना एक-दुई दिनभित्रै हटाउन निर्देशन दिएको थियो ।

कामपाका मेयर साहले बबरमहलमा रहेको काठमाडौं जिल्ला अदालतले बाटोमा पार्किङ गर्न लगाएकोमा विरोध जनाउँदै तत्काल आफ्नै भवनमा पार्किङ व्यवस्था गर्न आग्रह गरेका छन् । कामपाले एक साताअघि जिल्ला अदालतले नक्सा पास गरेको कागजात माग गर्दै पत्राचार गरेको थियो । अदालतले हालसम्म कागजात दिन नसकेको कामपा शहरी विकास विभागले जनाएको छ ।

कागजात नदिए के निर्णय गर्ने भन्ने विषयमा कामपाले कुनै तयारी थालेको छैन । तर, बेसमेन्टमा पार्किङको व्यवस्था नगरे कारबाही गर्ने चेतावनी दिएको छ । कामपाले राजधानीका ठूला मललाई निशाना गरी कारबाही अघि बढाउने तयारी गरेको छ ।

अधिकांश मलले पार्किङका लागि नक्सा पास गरी व्यवसाय सञ्चालन गरिरहेको सूचना कामपालाई छ । स्रोतका अनुसार सीटीसी मल, बानेश्वरको अल्फाबिटा, त्रिविको स्वामित्वमा रहेको वल्र्ड ट्रेड सेन्टरलगायत दुई दर्जन बढी भवन महानगरको निसानामा रहेको छ । महानगरले ३ सय ३३ भवनको विषयमा अध्ययन गरिरहेको छ ।

यसअघि ६ गते सोमबार बानेश्वर कम्प्लेक्समा कामपाले डोजर चलाएको थियो । महानगरले साउन २ गते ३५ दिने सूचना जारी गरी ५ गतेबाट भत्काउन थालेको थियो । संरचना भत्काउनुअघि कामपाले रानीपोखरी प्रहरी र उपत्यकका ट्राफिक प्रहरीसँग समन्वय गरेको थियो । नेपाल समाचारपत्रबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.