गोदाममै कुहियो खाद्यको अट्ठाइस क्विन्टल चामल

रिपोर्ट नेपाल | 2023 Mar 12 | 07:28 am 301

हुम्ला, फागुन २८ः हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल कुहिएको छ । खाद्य कम्पनीको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर डिपोको गोदाममा मौज्दात गरी राखिएको चामल कुहिएपछि गाडिएको छ ।

सो कार्यालय नासु नवीन आचार्यले डेढ वर्षअघिदेखि डिपोको गोदाममा मौज्दात रहेको खाद्यान्न कुहिएपछि गाउँपालिका, प्रहरी चौकी र स्थानीयवासीको रोहबरमा गाडिएको जानकारी दिए ।

गोदाममा राखिएको खाद्यान्नमध्ये २७ दशमलव ९० क्विन्टल चामल कुहिएपछि गाडिएको हो । यसबाट ढुवानीबाहेक लिमिटेडले एक लाख ८१ हजार ३५० रुपियाँ घाटा बेहोर्नु परेको छ ।

उहाँले डिपोको खाद्यान्न पैदल मार्गबाट ढुवानी गर्ने जिम्मा पाएको सप्लायर्सका प्रतिनिधि नन्द महतारा र टोपनारायण चालिसेले बर्खायाममा पानी परिरहेका बेला खच्चडमा ढुवानी गरेर ल्याउने क्रममा भिजेको चामल गोदाममा राख्दा कुहिएको अवस्थामा फेला परेको बताए ।

चामल डल्ला परेको र स्वाद अमिलो भएपछि परीक्षण गर्दा प्रयोगका लागि योग्य नदेखिएपछि खाद्य कम्पनीको केन्द्रीय कार्यालयको अनुमति लिएर गाडिएको हो । कुहिएको चामल गाड्नका लागि डिपोले केन्द्रसँग अनुमति मागेको थियो ।

अदानचुली गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका कारण यहाँ खाद्य कम्पनीले ल्याएको ढुवानी अनुुदानको चामल बिक्री हुनै छोडेको छ ।  गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.