गैसस महासंघको तत्काल विशेष महाधिवेशन गर्न लोकतान्त्रिक पक्षधरकाे माग

रिपोर्ट नेपाल | 2018 Dec 03 | 06:19 pm 1842

काठमाडौं, मंसिर १७  : गैर सरकारी संस्था महासंघ नेपालको लोकतान्त्रिक पक्षधरले  विशेष महाधिवेशनको माग गरेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर हालै सम्पन्न भएको महासंघको नवौँ महाधिवेशन राजनीतिक आस्था र कानुन विपरीत भएको भन्दै तत्काल विशेष महाधिवेशनको माग गरेको हो ।

महासंघका निवर्तमान महासचिव मिलनकुमार श्रेष्ठले महासंघको नवौँ महाधिवेशन विधि र विधानविपरित दुई तिहाइ सरकारको दम्भका आधारमा गरेको भन्दै आफूहरूलाई मान्य नहुने चेतावनी दिए । उनले तत्काल विशेष महाधिवेशन गर्नुपर्ने पनि माग गरे । श्रेष्ठले महासंघको मंसिर १४ र १५ गते राजधानीमा सम्पन्न २४ औँ साधारण सभा, ९औं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनमाथि राजनीतिकरण भएको आरोप लगाए ।

उनले भने,‘१४ र १५ गते सम्पन्न महाधिवेशनमाथि पूर्णतः राजनीति भयो, यो विशुद्ध सामाजिक सेवामा समर्पित संस्थाहरूको महासंघ हो, यसमा राजनीति गर्नु हुँदैन थियो, राजनीतिक भागबण्डाका आधारमा नेतृत्व चयन हुनु दुर्भाग्यपूर्ण हो, महासंघको विधान र कानुनविपरित गरिएको छ । लोकतान्त्रिक प्रक्रियालाई नै पुरै निश्तेज गरी एकलौटी रूपमा निर्वाचन प्रक्रिया सम्पन्न गरिने काम भयो । जुन लोकतान्त्रिक मूल्य मान्यताविपरित छ ।’

त्यस्तै कार्यक्रममा महासंघका पूर्व पदाधिकारी तथा सामाजिक अभियान्ता करुणा सागर सुवेदीले राजनीतिक आस्थालाई लिएर महासंघमा विवाद सिर्जना गर्न नहुनेमा जोड दिएका छन्।

उनले भने,‘राजनीतिक बिचारहरू एक ठाउँमा हुन्छन् । तर, सामाजिक संस्थाहरूको बारेमा अहिले ठूलो राजनीति भयो, यसो हुनुहुँदैन थियो, नागरिक आन्दोलनका रूपमा २०४८ सालमा स्थापना गरिएको संस्थालाई कमजोर बनाउने कि बलियो र भरपर्दो अधिकारपूर्ण संस्थाको रूपमा विकास गर्ने भन्ने कुरा सबैले विचार पु¥याउनुपर्छ ।’

सुवेदीले वर्तमान सरकार नागरिक संगठनहरुमाथि दिनप्रतिदिन नियन्त्रणकारी बन्दै गएको आरोप लगाए । ‘‘यो महाधिवेशनमा सबै मिलेर सरकारको स्थायी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा अहिले दुईतिहाइको दम्भमा नागरिक आन्दोलनलाई नै झन् कमजोर बनाउने कार्य भएको छ’–सुवेदीले थपे,‘यो विषयले आम गैससकर्मीहरुलाई दुःखी तुल्याएको छ।’

पत्रकार सम्मेलनमा निवर्तमान केन्द्रीय सदस्यहरू परमानन्द कंडेल, भीम प्रसाद शर्मा, लक्ष्मण खड्का, नेत्रकला शाही, प्रिज्मासिंह थारु, भरतनारायण प्रधान, सिद्धराज पाठक, बालकृष्ण ओझा, सरिता आङदेम्वेलगायतले हालै सम्पन्न महासंघको महाधिवेशन विधिसम्मत नभएको भन्दै विशेष महाधिवेशनको माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.