क्वालालम्पुर, १९ जेठ : मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई आफ्नो मुलुक फर्कन आग्रह गरेको छ । मलेसियाली गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० सम्म फर्कन आग्रह गरेको छ ।
उक्त अवधिभित्रै आफ्नो देश नफर्किए त्यस्ता कामदार र उनीहरूलाई रोजगारी दिने रोजगारदाता कम्पनीलाई दण्डित गरिने जनाइएको छ। गतबर्ष फेब्रुअरी १६ देखि त्यस्ता कामदारका लागि बैधानिकता प्रक्रियामा सामेल भई अस्थायी श्रम अनुमति लिएर काम गर्न या अध्यागमन कार्यालयमा तोकिएको जरिवाना रकम तिरेर स्वदेश फर्कन पाउने दोहोरो अवसर दिएको थियो।
गैरकानुनी आप्रवासी कामदारलाई अघिल्लो वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समयावधि दिएकोमा यो वर्ष जनवरीदेखि जुन ३० सम्मका लागि समयावधि थपेको थियो। उक्त विज्ञप्तिमा गैरकानुनी आप्रवासी कामदार वैधानिक हुन दिइएको ‘रिहाइरिङ’ कार्यक्रमको समयसीमा अब नथपिने उल्लेख गरिएको छ।
गत महिना नयाँ सरकार गठन भएसँगै मलेसियाले आप्रवासी कामदारको निर्भरता घटाउने जनाउँदै आएको थियो। अवैधानिक आप्रवासी कामदारहरू हटाउन यसअघि विभिन्न चरणमा आममाफी, वैधता कार्यक्रम र फिर्ती कार्यक्रम लगायतका थुप्रै अवसरहरू दिइसकेको छ।