गैडालाई खाडलमा पारेर खाग चाेरी गर्ने गिराेह सार्वजनिक

रिपोर्ट नेपाल | 2023 Dec 01 | 12:40 pm 593

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा पक्राउ परेका आठ जनालाई निकुञ्ज कार्यालयले सार्वजनिक गरेको छ ।

गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रमा दुई वटा पोथी गैंडालाई खाडल खनेर मारेको अवस्थामा फेला परेको थियो।

सोही गैंडाको खागसहित आठ जना समातिएका हुन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ लेबर्ट बस्ने रमेश खाती, मकवानपुर मनहरी-६ नयाँ बस्तीका सिताराम थिङ, हेटौंडा-४ समशेर थिङ, राप्ती-११ का पासाङ भन्ने आइतसिंह मोक्तान, रोल्पा सुनछहारी गाउँपालिका-६ फागम घर भइ मकवानपुर हेटौंडा-५ बस्ने अर्जुन रोका, गोरखा बारपाक घर भई भरतपुर-११ लामा टोल बस्ने धनबहादुर गुरूङ, चितवन कोराकका उनबहादुर स्याङ्तान र मकवानपुर मनहरी घर भइ चितवन बाँदुरझुला बस्ने इन्द्रबहादुर तमाङ रहेका छन् ।

अनुसन्धानको क्रममा निकुञ्जले दुई वटा खाग पनि बरामद गरेको छ। १८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको र ४८० ग्रामको एउटा र ११.८ इन्च गोलाइ, २ इन्च उचाइ भएको र ६० ग्रामको अर्को खाग बरामद भएको हो।

उनीहरूलाई अनुसन्धान गर्न चितवन जिल्ला अदालतले सात दिनको म्याद दिएको राष्ट्रिय निकुञ्जले जनाएको छ ।

यस घटनाको अनुसन्धान गर्न नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, खड्गदल गण कसरा व्यारेक, चितवन जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाइ लगायत खटिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.