गेटामा नवनिर्मित भवनमा कोरोना केयर सेन्टर सञ्चालन

रिपोर्ट नेपाल | 2021 May 25 | 07:06 am 2505

धनगढी, जेठ ११: कैलालीको गेटामा नवनिर्मित भवनमा कोरोना केयर सेन्टर सञ्चालनमा आएको छ। सोमबारदेखि आईसीयू र भेन्टिलेटरबाहेकका कोरोनाका अक्सिजनमा राख्नुपर्ने बिरामीहरूको भर्ना सुरु भएको हो।

प्रदेश सरकारको उदासीनतापछि संघ सरकारले, जिल्ला कोभिड व्यवस्थापन समिति मातहत रहने गरी कोरोना केयर सेन्टर सञ्चालनमा ल्याएको हो। ‘अहिले ५० शय्याबाट सेवा सुरु गरिएको छ, बढी शय्या राखेर अक्सिजनको आपूर्तिमा असहजता नहोस् भनेर ५० शय्याबाट सुरु गरिएको हो,’ पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले भने।

तत्कालीन मन्त्री भएका बेला लेखराज भट्ट स्वयम् गेटा मेडिकलमा आएर, कोरोना केयर सेन्टरको घोषणा गरेका थिए। कोरोनाका बिरामीका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा ५० शय्या र महाकाली अस्पतालमा ५० शय्याको मात्रै डेडिकेटेड अस्पताल छ। यद्यपि, कोरोनाका बिरामीहरू बढेपछि सेती प्रादेशिक अस्पतालले उसको सर्जिकल वार्ड, इमरजेन्सीसहितका वार्डमा पनि एक सयभन्दा बढीलाई भर्ना गरेको छ। महाकालीले पनि एक सयभन्दा बढीलाई भर्ना लिँदै आएको छ।

सुदूरपश्चिममा दैनिक एक हजारको हाराहारीमा कोरोनाका नयाँ संक्रमित थपिरहेका छन्। उनीहरूमध्ये अक्सिजन सपोर्ट चाहिने बिरामी बढ्न थालेपछि गेटामा कोरोना केयर सेन्टरको सुरुआत गरिएको हो। गेटा मेडिकल कलेजको ६ सय शय्याको अस्पताल भवन, मेडिकल स्वास्थ्यका विद्यार्थीका लागि कलेज भवन, चिकित्सक आवास, नर्सिङ आवास, छात्रावास भवन, प्रशासनिक भवनहरू निर्माणको अन्तिम चरणमा छन्।

गेटामा सञ्चालनमा ल्याइएको कोरोना केयर सेन्टरमा १ सय १० शय्या जडान गरिएका छन्। अक्सिजनको कमीले अहिले ५० शय्या मात्रै सञ्चालनमा ल्याइएको हो। संघ सरकारले, बजेट दिने भनिएपछि, अहिले कार्यविधि बनिनसकेकाले त्यो बजेट भने आउन सकेको छैन। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.