बैतडी, माघ ८: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको गेटमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ।
डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको पालको गेटमा भेटिएको बम बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको टोलीले निष्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ।
बुधवार बिहान ३ बजे भेटिएको बम सेनाको टोलीले मध्याह्न पौने १२ बजे निष्क्रिय पारेको हो।
नम्बर ३ पंसेरामा रहेको गाउँपालिकाको सम्पर्क कार्यालयमा पनि आगजनी गरिएको छ। वडा सम्पर्क कार्यालयको प्रशासन कक्षमा आगजनी भएको प्रहरीले जनाएको छ।
उक्त गाउँपालिकाको म १ च ४८८ नम्बरको जिप पनि आजगनी गरिएको छ। पालकै से १ च ४५९ नम्बरको स्काभेटरमा पनि आगजनी गरिएको छ।
प्रशासन कक्षको ताल्चा फुटाएर गरिएको आगजनीबाट कम्युटर, दराज र अन्य महत्त्वपूर्ण कागजपत्र जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिए।
आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।
घटनाको थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।