काठमाडौं, जेठ १८ः नेपाल प्रहरीकी एक प्रहरी निरीक्षकलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ । बर्खास्त हुनेमा इन्सपेक्टर लक्ष्मी थापा रहेकी छिन् । उनीलाई जानकारी नदिई लामो समय कार्यालय नआएको आरोपमा मन्त्रालयले सेवाबाट हटाएको हो ।
उनी नर्सिङ इन्चार्जका रुपमा प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत थिइन् । गत पुस २३ गतेदेखि एक महिना घर बिदामा बसेकी थापा त्यसयता सम्पर्कविहिन भएकी थिइन् ।
स्रोतका अनुसार जागिर छाडेर उनी विदेश गइसकेकी छिन् । उनलाई सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले गोरखापत्रमै सूचना समेत प्रकाशित गरेको थियो ।
उनले कुनै जवाफ नदिएपछि गत साता सेवाबाट हटाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए । प्रहरी सेवामा दु:ख धेरै तथा सेवा सुविधा कम भएकाले यसरी केही वर्षमै जागिर छाड्ने प्रवृत्ती छ ।